कृषि विकास बैंकको रकम चोरीमा बैंककै तीन कर्मचारी पक्राउ

काठमाडौं । कृषि विकास बैंकको लाहान शाखाबाट मंगलबार सिस्टम ह्याक गरी करिब दुई करोड रुपैयाँ चोरी भएको घटनामा बैंककै कर्मचारीको मिलेमतो रहेको रहस्य खुलेको छ ।

बैंकको सोही शाखामा कार्यरत तीन जना कर्मचारीले आफ्नो युजरनेम र पासवर्ड अनाधिकृत व्यक्तिलाई दिई सो शाखाका सात जना ग्राहकको खाताबाट रकम ट्रान्सफर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बैंकले जनाएको छ ।

स्रोतका अनुसार चोरीको घटनामा संलग्न कर्मचारीको पहिचान भइसकेकाले उनीहरु अहिले प्रहरी नियन्त्रण रहेका बताईएको छ । यस घटनाका बारेमा प्रहरीले आजै दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ ।

घटनामा संलग्न व्यक्तिाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, रसुवाका लक्ष्मी तामाङ, निर्मला तामाङ, नीमा तामाङ सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, नुवाकोटका लेवाङ तामाङ र लमजुङका विद्या सागरलगायत रहेको बताइए पनि प्रहरीले सबैको नाम खुलाएको छैन ।