सानिमा लाइफको आइपीओमा आवेदकको ओइरो

काठमाडौं । आज साँझ ५ बजेसम्म बिक्री प्रबन्धक प्रभु क्यापिटलका जानकारी अनुसार सानिमा लाइफ इन्सुरेन्सको आइपीओमा २ अर्ब ३८ करोड ८९ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १५ लाख ९८७ जना आवेदकले २ करोड ३८ लाख ८९ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् । उक्त आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ४।४२ गुणा बढी हो ।

सानिमा लाइफले कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ५४ लाख कित्ता आइपीओमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीले कर्मचारीलाई ३ लाख कित्ता सेयर र म्युचुअल फन्डलाई पनि ३ लाख कित्ता नै सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको हो । यसमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । सानिमा लाइफको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ ।