कार्यकालको उत्तरार्धमा आईजी खनालमाथि यस्तो प्रायोजित प्रहार !

काठमाडौं । दुई बर्षका लागि नेपाल प्रहरीका महानिरिक्षक (आईजी)मा बढुवा भई जिम्मेवारी कौशलताका साथ पूरा गरिरहेका सर्वेन्द्र खनालमाथि कार्यकालको उत्तरार्धमा प्रायोजित प्रहार गरिन थालिएको छ ।

आगामी २८ माघसम्मको जिम्मेवारीमा रहेका खनालमाथि विविध प्रकरणमा गरिएका प्रहार उनको कामका कारण निस्तेज भएपछि प्रहरीमा भएको खरिद प्रकरणमा अख्तियारले छापा मारेको भनी प्रचारबाजी गरिएको हो ।

कुनै पनि कार्यालयको सार्वजनिक खरिद प्रकरणमा चित्त नबुझेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने प्रावधानमा टेकेर संगठनभित्र र बाहिरबाट खनालमाथि प्रायोजित प्रहार भएको हो । प्रहरीको मोटरसाइकल खरिद प्रकरणलाई हतियार बनाएर केही रुष्ट ठेकेदार र प्रहरी संगठनका केही अधिकारीको मिलेमतोमा मिडियाको उपयोग गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अख्तियारको कुनै टोलीले कार्यालयमा छापा मारेको छैन । उसले कार्याक्षेत्रका आधारमा जानकारी लिन पत्र पठाएको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् ।

आईजी खनालले प्रहरीमा ठेक्का लिने र समयमा काम नगर्ने कतिपयलाई कारबाहीको दायरामा तान्ने प्रण गरेका थिए । सम्पादकहरूको एउटा छलफलका क्रममा प्रहरीलाई नै पीडित बनाउने ठेकेदारलाई के गर्नुहुन्छ रु भन्ने प्रश्नमा उनले कारबाहीको प्रक्रिया अघि बढाउने बताएका थिए । सोहीअनुसार उनले केही ठेकेदारलाई कारबाहीको चरणमा पनि पुराएका थिए ।

अपराध न्यूनिकरण, गुन्डागर्दी निस्तेज तथा सामाजिक अपराधमा चेतनाको काम ‘प्रहरी समुदाय साझेदारी’लाई प्रभावकारीताका साथ जनतासम्म पुर्याउन थालेपछि खनालको लोकप्रियता देख्न नसक्ने समूह उनीविरुद्ध सक्रिय रहेको छ ।

आन्तरिक सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएका खनालले राम्रो र प्रभावकारी काम गरेकै कारण अन्तर्राष्ट्रियस्तरको अवार्ड र पुरस्कार पनि पाइरहेका बेला उनलाई बद्नाम बनाउने नियतका आधारमा जालझेलपूर्ण प्रचारबाजीमा बिरोधी समूह सक्रिय देखिएको हो । एकथरीले बलात्कारको मुद्दालाई लिएर खनालको कामलाई प्रभावित पार्ने प्रायोजित प्रोपोगान्डा गरेका थिए ।

खनालविरुद्ध कालाबजारीया, तस्कर र संगठनमा उनका विरोधीहरू प्रायोजित रूपमा नै लागेका हुन् । तस्करी, गुन्डागर्दीमा संलग्नहरूले सिस्टममा प्रहार गर्दा आईजी खनालविरुद्ध सफलता हात पार्न सामाजिक सञ्जालमा बलात्कारका घटना उचालिएको थियो । अहिले अख्तियारले छापा नहानेको विषयलाई छापा मारियो भनेर बद्नाम बनाउने कोशिस गरिएको छ ।

प्रहरीका सामान खरिद प्रकरणमा आईजीको प्रत्यक्ष सहभागीता हुँदैन, यद्यपी सुध्रिँदै गएको संगठनको छवि धुमिल पारी खनाललाई बद्नाम बनाउने नियतका आधारमा प्रचारबाजी भएको पूर्व प्रहरी अधिकारीहरूको बुझाई छ ।

एक पूर्वअधिकारी भन्छन्,‘जब सुरक्षा बलियो हुँदै जान्छ, तस्करहरूले सल्बलाउने ठाउँ पाउँदैनन् अनि उनीहरू छापामार प्रत्याक्रमणमा सक्रिय हुन्छन् । त्यो भनेको मिडिया र राजनीतिक दलका नेतालाई प्रायोजित आक्रमण गर्न लगाउने ।’ संगठनात्मक संरचनालाई मजबुद बनाउँदै अपराध न्यूनीकरण गरिरहेको अवस्था हुने प्रहारका पछाडि अपराध कर्ममा संलग्नहरूको झुन्ड सक्रिय हुन थालेको छ ।

प्रहरीभित्रै पनि राजनीति गरी उनको कार्यकाललाई प्रभावित बनाउने व्यक्ति र समूहले त्यस्ता छापामार शैलीका प्रत्याक्रमणमा गलत सूचना दिँदै खनालविरुद्ध प्रचारबाजी गरिएको हो । ‘भत्किएको संगठन संरचनालाई लयमा ढालेका खनालको कार्यसफलताबाट आत्तिएकाले गलत हल्ला फिजाउने काम गरेका हुन्’, एक पूर्वप्रहरी अधिकारी भन्छन्,‘यसमा संगठनभित्र खनाललाई माइनस गर्दा आफू प्लसमा पुग्छु भन्ने गलत मनशाय भएका अधिकारीको पनि सहयोग हुन सक्छ ।’ पछिल्लो पटकको मोटरसाइकल खरिद प्रकरण पनि त्यसैको पृष्ठभूमीमा प्रोपोगान्डाका रुपमा ल्याइएको हो ।

‘केही पत्रकार साथीहरुले बायस्ड भएर एकतर्फी समाचार लेख्नुभयो, प्रहरी प्रधान कार्यालयमा अख्तियारले छापा मार्यो भनेर अफवाह फैलाउने कोशिस भयो । यसमा कुनै सत्यता छैन’, प्रधान कार्यालयका एकजना अधिकारीले भने ।

उजुरी परेपछी सम्बन्धित निकायबाट सम्बन्धित कागजात मगाएर छानबिन गर्नु नियमित प्रक्रिया रहेको अख्तियारले जनाएको छ । यसै पनि यस्तो प्रक्रियागत हिसाबमा कुनै प्रतिक्रिया नहुने अख्तियार प्रवक्ता प्रदिपकुमार कोइरालाले बताइसकेका थिए । ‘प्रहरी प्रधान कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको भन्ने समाचार सत्य होईन’ अख्तियार स्रोतले भन्यो । त्यसो त सम्बन्धित विभागीय मन्त्रीसँगको समन्वयमा नै काम गरिरहेका खनाललाई सरकारबाट भने पूर्ण सहयोग छ । ‘प्रहरी संगठनले प्रभावकारी काम गरेको छ, काम गर्दा अलिअलि आलोचना भइरहेको हुन्छ । आईजी खनाललाई काम गर्ने अख्तियारी सरकारले दिएको हो’, प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले भन्यो, ‘प्रधानमन्त्री उहाँको सुरक्षाको शैली र योजनासँग प्रभावित हुनुहुन्छ ।’

केही समयमा नै नेपालमा चीनका राष्ट्रपति सी जिन फिनको भ्रमणको सुरक्षाको कुशल तयारीमा ध्यान दिएका बेला आईजी खनाललाई बिचलित बनाउने नियतले प्रायोजित प्रहार गरिएको संगठनका धेरैको बुझाई छ । साभार सुशासन न्यूजबाट