बजेटमा तलब वृद्धि भएपछि कस्को तलब कति ?

काठमाडौँ– सरकारले बजेट वक्तव्यमार्फत राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेसँगै कर्मचारीको तलब रु तीन हजार ४४६ देखि नौ हजार ९२६ सम्म वृद्धि हुने भएको छ । बजेट घोषणासँगै अब मुख्यसचिवको पारिश्रमिक रु ५५ हजार २०० मारु नौ हजार ९३६ वृद्धि भई रु ६५ हजार १३६ पुगेको छ । यसैगरी राजपत्रअनङ्कित चतुर्थ श्रेणीका कर्मचारीको पारिश्रमिक रु १७ हजार २३० मा रु तीन हजार ४४६ वृद्धि भई रु २० हजार ६७६ पुगेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६÷०७७ को बजेट वक्तव्यमा कर्मचारीको पारिश्रमिक १८ देखि २० प्रतिशतले वृद्धि गरिने घोषणा गर्नुभएको थियो । यसअघि अहिलेकै प्रधानमन्त्री केपी शर्माओलीको नेतृत्वको सरकारका तर्फबाट तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७३ सालमा राष्ट्रसेवकको पारिश्रमिक वृद्धि गर्नु भएको थियो । वृद्धि भएसँगै कर्मचारीले प्राप्त गर्ने पारिश्रमिक ः

सरकारले तलब वृद्धिको घोषणा गरे पनि कर्मचारीले भने त्यसले आवश्यकता पूर्ति नगर्ने बताएका छन् । कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले वृद्धि भएको तलबले अहिलेको आवश्यकता पूर्ति नगर्ने बताए । यद्यपि राज्यको स्रोत साधन हेरेर चित्त बुझाउँदै उत्साहित भई काम गर्नुपर्ने उनको भनाइ थियो ।

तलब बढेसँगै आयकरको सीमा पनि बढ्यो

सरकारले सरकारी कर्मचारीको तलबमा वृद्धि गरेसँगै आयकरको सीमामा पनि परिवर्तन गरेको छ । सरकारले अधिकृतभन्दा तलको कर्मचारीमा २० प्रतिशत र अधिकृतभन्दा माथिको तलबमा १८ प्रतिशतले वृद्धि गरेको छ ।

यसअघि एकल व्यक्तिका हकमा वार्षिक रु तीन लाख ५० हजारको आम्दानीसम्म सामाजिक सुरक्षा करबाहेक अन्य कर नलिने गरेकामा अब यसको सीमा बढेर रु चार लाख पुगेको छ । विवाहित जागिरेका हकमा वार्षिक रु चार लाख ५० हजारसम्मको आयमा सामाजिक सुरक्षा कर मात्रै तिरे पुग्ने भएको छ । अघिल्लो आर्थिक वर्षसम्म विवाहित व्यक्तिले वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गरे १०, २० र ३० प्रतिशत गरी अधिकतम ३६ प्रतिशतसम्म कर तिर्नुपर्ने थियो ।