फेरि अमेरिकामा गोलीकाण्ड, ३ जनाको मृत्यु, १५ जना घाइते

लसएन्जेलस– अमेरिकाको क्यालिफोर्निया शहर नजिक चलिरहेको खानेकुराको एक मेलाको क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ ।

‘द गिलरोए गार्लिक फेस्टिबल’ नाम दिइएको यस मेलाको अन्तिम दिन आइतबार मेलामा सहभागी हुन आएका व्यक्तिमाथि गोली प्रहार हुँदा अरु पन्ध्र व्यक्ति घाइते भएका छन् ।

यस आक्रमणको क्रममा एक संदिग्ध बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । सान जोसे शहरबाट ४८ किलोमिटर दक्षिणपूर्वमा रहेको गिलरोए शहरमा सो गोलीकाण्ड भएको थियो ।

एक मिनेटभन्दा पनि कम समयमा उक्त गोलीकाण्ड भएको जनाइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार एक बन्दुकधारीले अर्धस्वचालित बन्दुकबाट गोली प्रहार गरेका थिए । तीन दिनको यस पर्वमा लसुनका परिकार हेर्न हजारौं व्यक्ति भेला भएका थिए ।

लसुनबाट बन्ने विभिन्न परिकारको प्रतियोगिताको रुपमा रहेको यस मेलामा हरेक वर्ष करिब एक लाख व्यक्तिको उपस्थिति रहँदै आएको मेला आयोजकले बताएका छन् । मेलामा लसुनबाट बन्ने विभिन्न खानेकुरा र पेयपदार्थ राखिएका थिए ।

यस बन्दुक आक्रमणको खास कारण भने प्रष्ट हुन सकेको छैन । अमेरिकामा वर्षैपिच्छे ठुल्ठूला गोलीकाण्ड हुने गरेका छन् जहाँ अत्याधिक हतियारको आडमा आममानिसमाथि जथाभावी गोली प्रहार हुने गरेको छ । बन्दुक हिंसाका कारण अमेरिकामा बर्सेनि ४० हजारको हाराहारीमा मानिसको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् ।

उता बोको हरामको आक्रमणमा ५५ जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंककारी संगठन बोको हरामले गरेको आक्रमणमा कम्तीमा ५५ जना गाउँलेको मृत्यु भएको हो ।

बोर्नोका गभर्नर बाबागाना उमारा जुलुमले बोर्नो राज्यको नागान्जाई क्षेत्रका बाडु मलाम क्यारिरी, जावा र लामिसुला बुकार बुलाला गाउँमा बोको हरामले शनिबार बिहानैदेखि आतंकको अवस्था सिर्जना गरेको जानकारी दिए ।

पीडितसँग भेटघाटपछि सञ्चारकर्मीसँग कुरा गर्दै गभर्नर बाबागानाले मानवीय संवेदना शून्य भएका आतंककारीले निर्दोष गाउँलेमाथि आक्रमण गरेको बताए ।

सरकार समर्थित स्थानीय सुरक्षा गार्डमा आबद्ध अब्बागाना अलिले आक्रमणमा मारिएका व्यक्तिको दाहसंस्कार भइरहेका समयमासमेत बोको हरामले आक्रमण गरेको जानकारी दिए ।

बाडु मलाम क्यारिरी गाउँमा मात्र २६ जनाको हत्या भएको अलिले सिन्ह्वा समाचार समितिलाई बताए । उनले विमानभेदी बन्दुक समेतबाट सुसज्जित पाँच वटा ट्रकमा आएका बोको हरामले गाउँमा आक्रमण गरेको जानकारी दिए ।

उनले भने, उनीहरुले कसैलाई छाडेनन् । उनीहरुले यहाँ महिला र बालबालिकाको पनि हत्या गरे । हामी सबैजसोले भागेर ज्यान जोगाउन सफल भयौं ।

बोको हरामले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा एक दशकदेखि आक्रमण जारी राखेको छ । उनीहरु उत्तरी अफ्रिकामा कट्टर इस्लामिक राज्य स्थापना गर्न चाहन्छन् ।