सामूहिक प्रयासमा कालिज पालन

बनेपा– विभिन्न पेशामा संलग्न युवाको समूहले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ इटापु साँगामा व्यावसायिकरूपमा कालिजपालन शुरु गरेको छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखामा विभिन्न व्यापार÷व्यवसाय गर्दै आएका आठ जनाको समूहले ‘नासिका वायल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि’ स्थापना गरी व्यवसाय थालेको हो ।

सञ्चालकसमेत रहनु भएका बनेपा नगरपालिका–१४ का ईश्वर राउतको करीब २१ रोपनी जग्गामा तारबार गरेर कालिजपालन शुरु गरिएको छ । जग्गा, कालिज तथा दाना खरीद, अन्य संरचना निर्माणमा हालसम्म रु एक करोड ७५ लाख खर्च भएको सञ्चालक उत्तर केसीले बताए । कालिजको मासुको माग अत्यधिक भएपछि व्यावसायिकरूपमै कालिजपालन शुरु गरेको उनले बताए । साठी कालिजबाट शुरु गरेका उनीहरूसँग एक हजार २०० कालिज रहेका छन् ।

बेल्जियमबाट अण्डा ल्याई नेपालमै ह्याचरीमार्फत कोरलेको चल्ला (कालिज) अहिले व्यावसायिकरूपमा पाल्न थालिएको हो । भीमेश्वर नगरपालिका–७ चरिकोटका केसी प्रतिकालिज रु तीन हजारदेखि रु चार हजारसम्ममा बिक्री गर्ने गरेको बताउँछन् । पहिलो पटक पोखरामा व्यावसायिकरूपमा कालिजपालन गरेको देखेपछि साथीहरूसँग मिलेर व्यवसाय शुरु गरेको प्रालिका अध्यक्ष नवराज तिमल्सिनाले बताए । “एक वर्ष भित्र १५ हजारदेखि २० हजार कालिज पु¥याउने लक्ष्य छ”, उनले भने । उक्त समूहले कालिजसँगै बाख्रापालनसमेत शुरु गरेको छ ।