त्रिभुवन विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको सुविधा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा सेवा सुविधा थप्ने काम सुरु भएको बताउनु भएको छ ।

शुक्रबार काठमाण्डौमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्री भट्टराईले देशभित्र सञ्चालनमा रहेका सबै विमानस्थलमा यसैगरी सेवा थपिँदै जाने बताउनु भएको हो ।

काठमाण्डौलगायत देशभित्रका विमानस्थलहरुमा पर्यटन वर्ष २०२० लक्षित कार्यक्रम पनि लागू हुने उहाँले बताउनु भयो । सरकार जनतालाई सेवा सुविधा दिन सधैँ तयार रहेको बताउँदै मन्त्री भट्टराईले आन्तरिक तर्फको विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गर्दै लैजाने बताउनु भयो ।

शुक्रबारदेखि सुरु भएको लगेज बेल्टले सेवाग्राहीको सामानको सुरक्षा हुने, लगेज छिटो प्राप्त गर्न सकिने विमानस्थल प्रशासनले बताएको छ । यसअघि यात्रु ओसार्ने गाडीको पछाडि झुन्ड्याएको कन्टेनरमा समान ल्याउने गरिन्थ्यो ।

वायुसेवाका कर्मचारीले टिकटसँगै सामानमा लगाएको ट्यागको नम्बर सोधेर सामान जिम्मा लगाउँथे । अब यो सबै झन्झट हटेको छ ।