मोटरसाइकल चोरीमा संलग्‍न ७ जना पक्राउ

चितवन । चितवनका विभिन्‍न स्थानमा मोटरसाइकल चोरी गर्ने तथा चोरीमा संलग्‍न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मलेन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमध्ये चोरी गर्ने पाँचजना र चोरीको मोटरसाइकल खरिद गर्ने दुईजना छन् ।

चोरी गर्नेहरु बाराका करैया माइगाउँपालिका ५ का विजय चौधरी, सोही ठाउँकै राकेश चौधरी, बारा जिल्ला, कोल्हवी नगरपालिका ७ का महेश चौधरी छन् । अन्य दुईजना चोरी गर्ने चितवनका हुन् । भरतपुर महानगरपालिका ११ का दिनेश गुरुङ र अर्का मनोज दराई रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले विभिन्न समयमा भरतपुर महानगरपालिकास्थित भाटभटेनी सुपर स्टोरअगाडि, कटहर चोक, नहरचोक पावर हाउस चोक, विक्रम मार्गलगायत स्थानहरुबाट मोटरसाइकलहरू चोरी गर्दै आएको कार्यालयका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) सूर्यबहादुर थापाले जानकारी दिए ।

यस्तै चोरीका मोटरसाइकल खरिद गर्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको खैरहनी नगरपालिका १२ का समीर चौधरी र अमृत चौधरी छन् । उनीहरुले चोरीका मोटरसाइकल खरिद गरी पार्टपुर्जा खोलेको अवस्थामा भेटिएको प्रवक्ता थापाले बताए ।