चर्चित गायिका लता मंगेशकरको निधन

काठमाडौँ । भारतकी चर्चित गायिका लता मंगेशकरको आज ९२ वर्षको उमेरमा निधन भएको छ । थुप्रै नेपाली गीतमा पनि स्वर दिएकी लता मङ्गेसकरको मुम्बईमा निधन भएको छ । उनलाई गत जनवरीका सुरुमा कोरोना सङ्क्रमण भएपछि मुम्बईको सिटी अस्पातालमा भर्ना गरिएको थियो ।

कोरोना सङ्क्रमणपछि उनमा निमोनियाँ भएको चिकित्सकहरुले बताएका थिए । जनवरी २८ तारिखमा उनलाई भेन्टिलेटरमा राखिएको भए पनि उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो ।

वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ ।

राष्ट्रिय ध्वजा संहिताअनुसार राजकीय शोकमा संसद, सचिवालय, विधानसभा, अन्य महत्वपूर्ण राष्ट्रिय भवन तथा सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । समाचार एजेन्सी एएनआईका अनुसार लताको पार्थिव शरीरको अन्तिम संस्कार आइतबार साँझ साढे ६ बजे राजकीय सम्मानका साथ मुम्बईको शिवाजी पार्कमा गरिनेछ ।