प्रचण्डको चीन जाने कार्यक्रम रद्द

सी पथको अध्ययन र चीनको विकासको अवलोकनका लागि ६० सदस्यीय पार्टी नेतासहित चीन जाने सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डको कार्यक्रम रद्द भएको छ ।

प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था र पार्टी सञ्चालनको कार्यकारी अधिकारसहितको जिम्मेबारीका कारण दाहालले आफै सार्वजनिक रुपमा घोषणा गरेको कार्यक्रम रद्द गर्न पुगेको उनी निकट श्रोतले बताएको छ ।

दुईदिन अघि शुक्रबार राजधानीमा चीन नेपाल मैत्री पत्रकार समूहद्वारा आयोजित कार्यक्रममा दाहालले चीन र नेपालबीचको सम्बन्ध जनस्तरमा मात्रै होइन राजनीतिक स्तरमा पनि अत्यन्तै सुमधुर भएको बताउँदै आफ्नो नेतृत्वमा ६० सदस्यीय टोली चीन जान लागेको जानकारी गराएका थिए।

दाहालको टोली यहि मंसिर २२ गते चीन उड्ने योजनामा थियो ।
तर प्रधानमन्त्री ओलीको डिस्चार्ज मिति अनिश्चित रहेको अवस्था र हालै अर्थात मंसिर चारगते आफूलाई प्राप्त अधिकार कार्यान्नयन महत्वपूर्ण ठानेर दाहालले चीन जाने कार्यक्रम रद्द गरेको उनी निकट श्रोतले बतायो ।

श्रोतले भन्यो ‘चीन जानलाई दाहालले लगभग सबै तयारी गर्नुभएको थियो, तर छलफल गर्दै जाँदा उहाँ यो कार्यक्रम रद्द गर्ने निर्णयमा पुग्नुभएको छ ।’