नेम्वाङलाई सभामुख, अग्नि र शिवमायालाई मन्त्री बनाउने तयारी

प्रतिनिधि सभाको रिक्त सभामुख पदको निर्वाचन नजिकिदै गर्दा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आन्तरिक छलफललाई तीव्रता दिएको छ ।

यस लगायत पछिल्लो परिस्थितिका विषयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । छलफलमा सभामुख कसलाई बनाउने भन्नेदेखि सभामुखका आकांक्षी रहेकाहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको बताइएको छ । दुई अध्यक्षबीच संसदीय दलको उपनेता रहेका सुवाषचन्द नेम्वाङलाई सभामुख बनाउने सहमती भएको स्रोतले बताएको छ ।

त्यसैगरी सभामुखका आकांक्षीका रुपमा रहेका अग्नि सापकोटा र उपसाभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तयारी अध्यक्षद्वयले गरेका छन् । हिजो सरकारबाट समाजवादी बाहिरिएपछि रिक्त सहरी विकास मन्त्रालयको जिम्मेवारी सपकोटालाई र कानुन मन्त्रालयको जिम्मेवारी तुम्बाहाम्फेलाई दिने गरी छलफल अघि बढेको बताइन्छ ।

समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपा नेपाललाई सरकारमा भित्र्याउने तयारी गरिरहेको नेकपाले तत्कालै राजपा सरकारमा आइहाल्ने स्थिति नभएको हुँदा दुई नेतालाई मन्त्री बनाएर नेम्वाङलाई सभामुख बनाउने गरी छलफल अघि बढेको बताइन्छ ।

सभामुख पूर्वएमालेबाट की पूर्वमाओवादीबाट भन्ने छलफल चलिरहेका बेला प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सहमति भएसँगै नेम्वाङले पाँचौ पटक देशको पाँचौ ठूलो पदको जिम्मेवारी पाउने निश्चिय हुन पुगेको छ ।

नेम्वाङले यसअघि २०६३ सालमा पुनस्थापित संसद, रुपान्तरिक संसद, २०६४ सालमा भएको पहिलो संविधानसभा र २०७० मा भएको दोस्रो संविधान सभामा सभामुखको जिम्मेवारी सम्हालि सकेका छन् ।

त्यस्तै अनुभवी र पार्टीभित्र एकताको सन्देश दिन पनि नेम्वाङ उपयुक्त पात्र भएको दुई अध्यक्षबीचको छलफलमा उठेको थियो । अध्यक्षद्वय ओली र प्रचण्डले यस सम्बन्धी अन्तिम निर्णय गर्ने भए पनि पार्टीभित्र नेम्वाङलाई नै सभामुख बनाउन लगभग सहमित जुटेको नेकपाका एक नेताले बताए ।

ओली पद रिक्त भएदेखि नै नेम्वाङको पक्षमा रहेपनि अर्का अध्यक्ष दाहाललाई पूर्वमाओवादी खेमाले सभामुख एकतापूर्वको शक्ति सन्तुलन कायम हुनुपर्ने दबाब दिँदै आएका थिए ।

यसअघि पूर्वमाओवादी पक्षले अग्नि सापकोटालाई सभामुख बनाउनु पर्ने प्रस्ताव गरेको थियो भने उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि आफूले सभामुखको जिम्मेवारी पाउनु पर्ने माग राख्दै आएकी छन् ।

अध्यक्षद्वयबीच सहमति भएपछि सभामुख र उपसभामुख दुवै एउटै पार्टीबाट हुन नहुने संवैधानिक व्यवस्थाका कारण उपसभामुख तुम्बाहाम्फेले आगामी मंगलबारसम्म उपसभामुख पदबाट राजीनामा दिने तयारी गरेकी छन् ।

गएको असोजमा तत्कालीन सभामुख महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए । संसदको हिउँदे अधिवेशन पुस ४ गते सुरु भएको र अर्को बैठक ११ गतेका लागि बोलाइएको छ ।

उक्त बैठकले सम्भवत पुस १३ गते सभामुखको चुनाव गर्ने गरी कार्यतालिका आउने संसद सचिवालय स्रोतको भनाइ छ । ११ गतेको बैठकअघि नेकपाले निर्णय गर्नेछ ।