वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा विश्वासको मत लिने भएका छन्।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा मन्त्रीहरुसमक्ष आफूले विश्वासको मत लिने जानकारी गराएका हुन्। उनले आगामी वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेको पनि मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ।

मन्त्रिपरिषद्लाई जानकारी गराएपछि उनी राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न गएको एक मन्त्रीले बताए । सर्वोच्च अदालतको आदेशपछि पार्टी विभाजन भएर बनेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिए पनि माओवादीले समर्थन फिर्ता लिएको छैन ।

यस्तो अवस्थामा ओलीले आफूले विश्वासको मत लिने बताएका हुन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान एमालेको स्थायी समिति बैठकपछि पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।