अफगानिस्तानमा आंशिक युद्धविराम शुरु, स्वागतमा अफगानीहरूको नाचगान

काबुल– अफगानिस्तानमा शनिबारदेखि एक हप्ता लामो आंशिक युद्धविराम शुरु भएको छ । वर्षौंदेखि गृहयुद्धका कारण थिलथिलो भएको अफगानिस्तानमा शान्ति आउने आशामा हर्षित देखिएका नागरिक बिहानैदेखि सडकमा नाचगान गरिरहेका छन् ।

अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबान, अमेरिका र अफगान सरकारबीच हिंसा न्यूनीकरण गर्न एक हप्ते सम्झौता भएको छ र यो शनिबारदेखि लागू भएको हो । यो प्रारम्भिक सम्झौताको पूर्ण पालना भएमा सन् २००१ देखि जारी सशस्त्र हिंसा अन्त्यका लागि एउटा प्रस्थान विन्दु हुनेछ ।

अमेरिका र विद्रोही तालिबानबीच आंशिक युद्धविरामको नतिजाका आधारमा स्थायी युद्धविराम गर्न दुवै पक्ष सहमत भएका छन् । उक्त सम्झौताबमोजिम अमेरिकाले १८ वर्षपछि अफगानिस्तानमा तैनाथ करीब १४ हजार अमेरिकी सैनिक क्रमशः फिर्ता लैजानेछ । साथै, युद्धबाट थकित भइसकेको अफगानिस्तानमा राजनीतिक केही अस्थिरताका बाबजुद विकास र प्रगतिको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

काबुल सडकमा शनिबार बिहानै भेटिएका ट्याक्सी चालक हबिब उल्लाहले निकै आत्मविश्वासका साथ भने, “बम वा आत्मघातीको आक्रमणबाट मृत्यु हुने भय बेगर नै म पहिलोपटक यसरी सडकमा निस्कन पाएको छु । मलाई आशा छ यो सदा जारी रहनेछ ।”

यो साप्ताहिक युद्धविराम सफलतापूर्वक अघि बढाउन तालिबान समूहले आफ्ना लडाकूलाई नियन्त्रणमा राख्न सक्नु पर्दछ । अमेरिका र विद्रोही दुवैले आगामी फेब्रुअरी २९ मा दोहामा पूर्ण सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने पटकपटक बताइसकेका छन् । तर अमेरिकी सेना र अमेरिकी चासोका स्थानमा बम हमला भएपछि ट्रम्पकै आदेशमा अमेरिका–तालिबान जारी शान्तिवार्ता केही समय रोकिएको थियो । तर दुबै पक्षबीच पुनः शान्तिवार्ता भएर अस्थायी एकहप्ते युद्धविराम भएको छ ।

लामो समयदेखि रक्तपातपूर्ण युद्धको सामना गरिरहेका सर्वसाधारण अफगानीले पछिल्लो सहमतिले ठूलो राहत दिएको छ । संयुक्त राष्ट्रसङ्घले गत वर्ष विगत एक दशकमा अफगानिस्तानमा एक लाखभन्दा बढी मानिस मारिए वा घाइते भएको जनाएको थियो । तालिबानको मुख्य आधारभूमि मानिएको दक्षिणी कन्धाहार र पूर्वी जलालाबादमा अफगानीहरू रातिदेखि नै सडकमा परम्परागत पस्तुन नाचमा रमाइरहेका देखिन्थे ।

वर्षौंदेखि सर्वसाधारणका लागि घातक ठाउँहरूमध्ये एकका रूपमा देखिएको काबुलमा भने मानिसहरू केही सजग देखिएका थिए । “अस्थायी नै भए पनि युद्धमा रोकिनु राम्रो हो तर हामी स्थायी युद्धविराम होस् भन्ने चाहन्छौँ,” सरकारी कामदार फजुल रहमानले भने । “जतिसक्दो चाँडो विद्रोही तालिवान र अफगान सरकारबीच पनि शान्तिवार्ता हुनुपर्दछ ।”

काबुलका एकजना पसले इमामुद्दिनले जेजस्तो अवस्थामा पनि सबै अफगानीले शान्तिको चाहना राखेको बताए । “एक हप्ताको युद्धविराम त आँखा झिमिक्क पार्दै सकिन्छ,” उनले भने । “उनीहरूले यस देशको समस्याका लागि दिगो समाधान खोज्नुपर्दछ ।”

खतरनाक क्षण

हिंसामा कटौतीको विषय भने अद्यापि कृपण छ ।

अमेरिकाले अफगानिस्तानमा जारी ‘हिंसामा उल्लेखनीय र राष्ट्रव्यापी कटौती’का लागि ‘समझदारी’ भएको बताएको छ भने अफगान सुरक्षाफौज पूरै साताभर ‘सक्रिय आत्मरक्षाको स्थितिमा’ मात्र रहनेछ ।

“तालिबानले हिंसामा अर्थपूर्ण कटौतीप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन गर्नुपर्दछ,” अमेरिकी रक्षामन्त्री मार्क एस्परले ट्विट गर्दै भनेका छन् । “तालिवानले शान्तिको बाटोलाई अस्वीकार गरेको खण्डमा हामी आफैँ र अफगान साथीहरूको मद्दत गर्न तयार हुनेछौँ ।”

कन्धाहारमा एकजना तालिबान विद्रोहीले आफूलाई हतियार थाती राख्ने आदेश आएको एएफपीलाई बताए । तर अर्का लडाकूले आफूलाई केवल ठूला शहरहरू र राजमार्गहरूमा आक्रमण रोक्न आदेश दिइएको जानकारी दिए ।

कुनै पनि युद्धविराम चुनौती र खतराबाट भरिपूर्ण हुन्छ । विश्लेषकहरूका भनाइमा अफगानिस्तानको रक्तपात रोक्न निकै जटिलताहरू रहेका छन् र कुनै पनि समय त्यो भङ्ग हुन सक्दछ ।

सन् २००१ मा अमेरिकी आक्रमणपछि अफगानिस्तानमा एकपटक मात्र युद्धमा विश्राम आएको छ । तालिबान र काबुलबीच सन् २०१८ मा मुस्लिमहरूको महान् चाड इदको अवसरमा तीन दिन युद्धविराम भएको थियो ।

त्यसबखत अफगानिस्तानले तालिबानी लडाकूहरू, सुरक्षाफौज र सर्वसाधारणलाई अङ्गालो हालेर, आइसक्रिम बाँडेर र सेल्फी खिच्दै खुशी साटासाट गरेका थिए ।

अमेरिकाले एक वर्षभन्दा बढी समयदेखि तालिबानसँग वार्ता गरिरहेको छ । उक्त वार्ता मुख्य रूपमा अफगानिस्तानमा तैनाथ १२ हजार देखि १४ हजार अमेरिकी सेनाको आधा हिस्सा तत्कालै हटाउने र स्थायी युद्धविराम गर्ने केन्द्रित छ ।

त्यसको बदलामा तालिबानले सुरक्षा प्रत्याभूति गर्नुपर्नेछ र अफगान सरकारसँग शान्तिवार्तामा सहभागी हुनेछ ।

बिहीबार उक्त समूहका उपनेता सिराजुद्दिन हक्कानीले न्युयोर्क टाइम्समा एउटा लेख लेख्दै विद्रोहीहरू सम्झौताको पक्षमा खडा हुन पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । रासस÷एएफपी