कोरोना भाइरसका कारण हालसम्म २ लाख उडान रद्द

एजेन्सी । चीनको हुबेइ प्रान्तबाट सुरु भएको नयाँ कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिँदा विश्वभरका एयरलाइनहरुले रोकथाम र नियन्त्रणका लागि मात्र २ लाख बढी उडान रद्द गराइसकेका छन् । यसरी कतिपय क्षेत्रमा यात्रा निषेध गरिएपछि हवाइ इन्धनको मूल्यमा समेत ठूलो गिरावट आएको बताइएको छ ।

कोरोनाकै कारण चीनभरका सबै क्षेत्रमा उडानको मागमा अत्याधिक कमी आइरहेको छ । अहिले भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ७५ हजार नागिसकेको छ भने यसमा खबर गरिएका ९८ प्रतिशत बिरामी चीनका रहेका छन् । तर केही दिन यता दक्षिण कोरिया र इरानमा पनि संक्रमितको सङ्ख्या एक्कासी बढेपछि यसबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ ।

त्यसैले पनि चीनसम्मको उडान भर्ने ठुल्ठुला अमेरिकी विमान – डेल्टा, युनाइटेड अमेरिकन एयरलाइन्स समेतले हङकङ र चीनका सबै उडान रद्द गराएका छन् । फेब्रुअरीमा मात्र चीनको यात्रा गर्न निर्धारित भएका फ्लाइटहरुको सङ्ख्या ८० प्रतिशतले घटेको ‘एभिएसन कन्सल्टिङ कम्पनी’ सिरियमले जनाएको छ । यसरी जनवरी २३ देखि फेब्रुअरी १८ का बीच चीन भित्र नै करिब एक लाख बढी डोमेस्टिक उडान अवरुद्ध भएका थिए । यसकारण पनि हवाइ इन्धनको मूल्य यो वर्षमा मात्र १७ प्रतिशतले कम भइसकेको बताइएको छ । यस्तोमा उडानको कम मागले एयरलाइनहरुको आम्दानी र नाफामा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ ।

यसमा सबैभन्दा महत्वपूर्ण मानिने एसिया–प्यासिफिक हवाइ यात्रा बजार सबैभन्दा नराम्ररी प्रभावित हुने निश्चित छ । गत वर्ष यही क्षेत्रमा विश्वव्यापी, ३५ प्रतिशत हवाइ उडानको माग आएको थियो । यसअघि चीनले विश्वकै ठूलो हवाइ बजारका रुपमा दशकको मध्यतर्फ अमेरिकालाई हराइसक्ने अनुमान गरिएको थियो ।

तर विश्वव्यापी हवाइ उडानको माग २००९ पछिकै कम पुग्न लागेको हो । यसले विशेषगरी एसिया प्यासेफिक क्षेत्रका एयरलाइन्सलाई २९ अर्ब डलरसम्मको घाटा गराउने अन्तराष्ट्रिय हवाइ यातायत संघले खबर गरेको छ । यसबीच विश्वभरका एयरलाइन्सहरुले आफ्ना आर्थिक क्षतिको गन्ती गर्न सुरु गरिसकेका छन् । अष्ट्रेलियाको क्वान्टासले पनि बिहिबार कोरोना भाइरसले आफूहरुलाई १ करोड डलर सम्मले आम्दानीमा कमी गराउने बताएको थियो । त्यसैले आफूहरुले आगामी मे महिनासम्म एसियाका १६ प्रतिशत उडानमा कटौति गर्ने निर्णय लिएको बताएको हो । यसअघि नै क्वान्टासले चीनको उडान बन्द गराइसकेको छ । सिएनबीसी