पाँचतारे होटलमा भएको आक्रमणबाट छ जनाको मृत्यु

काबुल– अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा ताबिानहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको समाचार छ ।

अफगान गृह मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार शनिबार राति गरिएको सो आक्रमणमा परी अरु छ जना घाइते भएका छन् भने १०० जनालाई भने उद्वार गरिएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको इन्टर कन्टिनेन्टल नामको सो पाँचचारे होटलमा विस्फोटक पदार्थ जडित ज्याकेट (आत्मघाती ज्याकेट) लगाएका र हातहतियार लिएका चारजना तालिबान आतङकबादीले आक्रमण गरेको जनाइएको छ । उनीहरुले शनिबार राति इन्टरकन्टीनेन्टल होटलमा आक्रमण गर्दा त्यहाँ कैयौँ विदेशी पर्यटक पनि रहेका थिए ।

आइतबार विहानसम्म पनि छिटफुटरुपमा बन्दुक पड्काइएको आवाज सुनिएको थियो भने होटलको धुरीबाट धुवाँको मुस्लोसमेत देखिएको समाचारमा जनाइएको छ ।

आतङ्ककारीले सो होटलमा हमला सुरु गरेपछि उनीहरुलाई प्रहरीले घेरा हालेको थियो । प्रहरीको कारबाहीमा आक्रमणकारी नै मारिएका छन् ।

त्यस्तै मारिनेमा पाँच जना अफगान र एक विदेशी पर्यटक परेका छन् । मारिएकामा चार आत्मघाती आक्रमणकारी, एकजना अफगान नागरिक र अर्का एकजना विदेशी पर्यटक परेका यहाँका प्रहरी अधिकारीले पुष्टी गरेका छन् ।

‘आतङ्कबादीहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीले जवाफी आक्रमण गरेका थिए,’ गृह मन्त्रालयका प्रवक्ता नाजीब डानीशले स्थानीय सञ्चारमाध्यमसँग भने ।

आतङ्कबादीको नियन्त्रणमा के कति मान्छे छन् या छैनन् भन्ने बारेमा केही स्पष्ट हुन नसकेको अधिकारीले बताएका छन् । घटनास्थलमा कुनै सञ्चारकर्मी तथा आम मान्छेलाई जान दिइएको छैन ।

एम्बुलेन्सलाई पनि घटनास्थलमा जान नदिएर होटल नजिकै लाइनमा राखिएको छ । घटनाका कारण पश्चिमी छिमेकी सहरमा ट्राफिक जाम परेको छ । सो होटललाई प्रहरीले घेरा हालेको छ । भित्रबाट अहिले पनि सनातिना विस्फोटका आवाज आइ नै रहेको बताइएको छ ।

आतङ्ककारीले होटलका पहुनाहरुलाई नियन्त्रणमा लिएर बन्धक बनाएर राखेको हो कि भन्ने बारेमा पनि प्रहरीले अहिले नै केही भन्न सकिरहेको छैन । तर अहिले घटनास्थल भने पूर्णरुपमा प्रहरीले आफ्नो नियन्त्रणमा लिएको बताइएको छ । रासस/सिन्ह्वा