पेटमा ६ किलो गाँजा बाँधेर भारतको यात्रा गर्ने ३ जना पक्राउ

वीरगन्ज । पर्साको वीरगन्जमा पेटमा लागू औषध गाँजा बाँधेर तस्करी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय इनर्वाबाट खटिएको प्रहरी टोलीले पेटमा २ किलो गाँजा बाँधेर वीरगन्जबाट भारतर्फ जाँदै गरेका ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय राज्य बिहारको छपरा जिल्ला अन्तर्गत महुली गाउँ घर भएका ३५ वर्षी दिनेश सहनी, २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी छन् ।

प्रहरीका अनुसार उनीहरु २ किलोका दरले ६ किलो गाँजा पेटमा बाँधेर पैदल हिँडेर भारततर्फ जाँदै गरेका थिए ।

विशेष सूचनाका आधारमा परिचालन भएको टोलीले तीनै जनालाई वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेट नजिकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।