नेपाललाई कोरोनाको प्रभावः नेपाल भ्रमण वर्ष २०२० स्थगित, ‘सगरमाथा संवाद’ समेत नहुने

कोरोनाको प्रभाव बढ्दै गएपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रकोप अन्य देशमा समेत फैलिएपछि मन्त्रिपरिषद्को बैठकले जोखिम बढेको निष्कर्ष निकाल्दै भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो। शनिबार मात्र पर्यटन मन्त्रालयले भ्रमण वर्ष लक्षित विदेशमा आयोजना हुने सबै कार्यक्रम रद्द गर्ने निर्णय गरेको थियो।

चीनबाट शुरु भएको कोरोना भाइरस अहिले कोरिया, इरान हुँदै अन्यत्र समेत देखिन थालेको छ।

अमेरिकामा समेत यही भाइरसका कारण एक व्यक्तिको मृत्यु भएको छ।
सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय रूपमा आयोजना गर्न लागेको कूटनीतिक छलफल ‘सगरमाथा संवाद’स्थगित गरेको छ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथा संवाद स्थगित गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

विश्वव्यापी संकटको रुप लिन थालेको कोरोना भाइरसको असरका कारण नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’स्थगित गरिएको हो।

चैत २० देखि २२ सम्म आयोजना हुन लागेको कार्यक्रम स्थगित भएको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबारमात्रै विदेशमा गरिने भिजिट नेपाल २०२० का प्रवर्द्धनका सबै कार्यक्रम स्थगित गरेका थिए।

संक्रमणको संकट बढ्दै गएका बेला एक महिनापछि हुन लागेको कार्यक्रम अहिलेलाई स्थगन आयोजना मिति केही समय पछि सार्न उपयुक्त हुने निचोडमा परराष्ट्र मन्त्रालय पुगेको स्रोतको थियो।

सगरमाथा संवादको पहिलो संस्करणमा सरकारले २० देशका कार्यकारी प्रमुखलाई निम्ता गरेको थियो।

संवादमा विज्ञसहित करिब एक सय ५० अन्तर्राष्ट्रिय सरोकारवालालाई निमन्त्रणा गरिएको थियो।

सगरमाथा संवादको तयारी स्वरुप गत माघ २६ गते परराष्ट्र मन्त्रालयले राष्ट्रिय संवाद पनि आयोजना गरेको थियो।

चालू आवमा मात्र सरकारले भिजिट नेपालका विभिन्न कार्यक्रममा ६७ करोड बढी रकम विनियोजन गरेको थियो। भिजिट नेपालको उद्घाटनमा मात्र ५ करोडभन्दा बढी रकम खर्च भएको थियो।

पूर्वाधारलगायतका विषयमा पर्याप्त तयारी नभएको भन्दै निजी क्षेत्रले भिजिट नेपाल केही वर्ष सार्न सुझाव दिँदादिँदै सरकारको एकतर्फी जोडका कारण भिजिट नेपाल सुरु भएको थियो। यसकारण विवादित बन्दै गएको भिजिट नेपाल अन्ततः कोरोना भाइरसको विश्वव्यापी असरका कारण स्थगित भएको छ।