नाचघरमा गुञ्जिए डेनी

काठमाडौं– ‘म ज्यूँदो लाश बन्न चाहन्न, यो देश बदल्न चाहन्छु ।’ हलभरी खचाखच दर्शक/स्रोताको तालीको पर्रा छुट्यो । दर्शकदीर्घाको पहिलो लहरमा राजनीतिमा स्थापित केही व्यक्ति अनि नेपाली सिनेमा र संगीतका मुर्धन्य स्रस्टाहरुले प्रतिक्षा गरेको क्षण चासो अनि आनन्दमिश्रित भावभंगीमा देखिए । स्टेजमा रिदम गीतार, बेस गीतार, कीबोर्ड, बाँसुरी अनि ढोलक–तबला, मादल, अक्टोप्याड र सीतारसहित तयारी अवस्थामा रहेका वाद्यवादकहरु । उनै वाद्यवादकहरुको अग्रभागमा रहेर आफ्नो एकल गायनको साँझमा पहिलो प्रस्तुतीस्वरुप हार्मोनियमको रीडमा औँला खेलाउँदै मस्त हुँदै गुञ्जिए डेनी निरौला ।

नम्र, मिजासिलो स्वभावका निरौला सांस्कृतिक संस्थानले हरेक महिनाको अन्तिम बिहीबार आयोजना गर्दै आएको सुर, साधनाको १८औँ श्रृङ्खलामा काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा केही आफ्ना त केही पुराना कालजयी गीतहरु प्रस्तुत गर्दैगर्दा कुनै क्षण आफ्ना बुबातर्फ त कुनै क्षण आफ्ना ठूलोबुबातर्फ ध्यान पुर्याउँथे । कुनै बेला अग्रज स्रष्टा चेतन कार्की, सुवासचन्द्र ढुंगेल, प्रकाश सायमीतर्फ आफ्नो प्रस्तुतीलाई सम्मोहित गरे झँै देखिन्थे भने घरी–घरी पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, गणेश रसिक, बुद्धवीर लामा, भुपेन्द्र रायमाझी, सूर्य थुलुङसहित अन्यलाई आफ्नो प्रस्तुतीको प्रभावकारीता जाँचे झैँ गर्दथे ।

आफ्नो एकल गायनको साँझमा डेनीले एकपछि अर्को प्रस्तुतीहरुको विसौनीमा आफ्नी दीवंगत आमाको स्मरण गर्छन्, आफू पनि भावुक बन्छन् भने माहोललाई पनि स्तव्ध बनाउँछन् । प्रस्तुतिकै क्रममा केही सम्मान र आशिर्वाद पनि ग्रहण गर्छन् भने पुराना स्रष्टाहरुसँको संगत–सहकार्यको अनुभव साट्छन् । उपस्थित दर्शक/स्रोताहरु भने मन्त्रमुग्घ भएर गीतमा डुबीरहेका देखिन्थे भने उनका कुराहरुलाई चाखलाग्दो गरेर सुनिरहेका हुन्थे ।

भव्य रुपमा सम्पन्न भएको इलामे गायक तथा संगीतकार डेनी निरौलाको प्रस्तुतीले बिहीबार नाचघरको हलमा घरीघरी ध्वनी संयोजनमा समस्या आउँदा पनि मस्त र मुग्ध भएर गीतहरु प्रस्तुत गरिरहे र उपस्थित सवैजनालाई मुग्ध बनाउन सफल भए । आफ्ना ४ वटा गीतहरु (म ज्यूँदो लाश, धेरै धेरै लामो कथा, फूल दिन्छु भन्थ्यौ, लाली हुँदो रैछ माया, सवै पीडा) प्रस्तुत गरे भने पुराना स्थापित कालजयी ५ वटा गीतहरु (जति चोट, भन्थि मेरी उनी, अल्झेछ क्यारे पछ्यौरी, धेरै चोटी आँखा जुध्यो) प्रस्तु्त गरे । इलामको रेडियो नेपालबाणी बाट प्रत्यक्ष प्रशारण विभिन्न अनलाईन र सामाजिक सञ्जालबाट लाईभ भएको एकल साँझको युगल गायनमा भने निरौलाकै बहिनी झुमा निरौलाले साथ दिएकी थिइन् ।

बिहीबार सम्पन्न सो एकल साँझमा वरिष्ठ गीतकार तथा तथा स्रष्टा चेतन कार्की, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवाशचन्द्र नेम्वाङ्ग, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, वरिष्ठ कलाकारहरु गणेश रसिक, प्रकाश सायमी सायमी, सूर्य थुलुङ्ग, गणेश पराजुलीको उपस्थिति रहेको थियो ।
त्यसैगरि, वरिष्ठ संगीतकार बुद्धवीर लामा, वरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेल, भूपेन्द्र रायमाझीसहित विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुले पूरै समय बसेर उनका सबै गीतहरु सुनेका थिए ।

सो कार्यक्रममा सांस्कृतिक संस्थान, नामसालिङ्ग सेवा मञ्च र उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्थाले गायक तथा डेनी निरौलालाई सम्मान गरेका थिए भने उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्था र गजुरमुखी कन्ट्रक्सन प्रालिले कार्यक्रममा सहयोग गरेको थियो ।