चीनमा फेरि देखिन थाल्यो नयाँ संक्रमण, अप्रिल २८ यताकै सबैभन्दा धेरै संक्रमित

काठमाडौं- चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का १४ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २८ यताकै सबैभन्दा बढी हो ।

चीनको नेशनल हेल्थ कमिसनले आइतबार दिएको जानकारी अनुसार १४ मध्ये दुई जना विदेशबाट आएका मानिस हुन् । बाँकी १२ जना स्थानीय संक्रमित हुन् । भेटिएका नयाँ संक्रमित मध्ये ११ जना उत्तरपश्चिमी प्रान्त जिलिनका हुन् ।

यस्तै, चीनमा बिना कुनै लक्षणका २० नयाँ संक्रमित भेटिएका छन् । चीनले लक्षणका लक्ष्ण नभएका यस्ता संक्रमितलाई गणना गर्ने गरेको छैन । यो संख्या पनि १ मे यताक सबैभन्दा धेरै हो ।

चीनमा समग्र संक्रमितको संख्या ८२ हजार नौ सय एक पुगेको छ । साथै अहिलेसम्म कोरोना भाइरसको कारण चार हजार ६३३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ७८ हजार एक सय २० संक्रमित निको भएर घर फर्किसकेका छन् । चीनमा अब केवल १४८ जना बिरामी निको हुन बाँकी छन् । जसमध्ये १३ जनाको अवस्था गम्भीर छ ।