बङ्लादेशमा बाढी : दर्जनौँको मृत्यु, २८ लाख प्रभावित

ढाका– बङ्लादेशमा भएको बाढीका कारण दर्जनौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन् ।

सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार बाढीका कारण बङ्लादेशमा ८६ जनाको मृत्यु भएको छ ।

देशको प्रकोप व्यवस्थापन निकायले गत जुन ३० देखि अहिलेसम्म बाढीका कारण मृत्यु भएकाहरूको सङ्ख्या ८६ पुगेको जनाएको छ । यो तथ्याङ्का देशका २१ जिल्लाको हो । अन्य ठाउँमा बाढीबाट मृत्यु भएको विवरण प्राप्त नभएको पनि अधिकारीहरूको भनाइ छ ।

कूल मृतकमध्ये बाढीका कारण डुबानमा परेर ७१ जनाको मृत्यु भएको हो भने अरू आठ जनाको विद्युतीय करेन्टका कारण मृत्यु भएको हो ।

त्यसैगरी एक जनाको झाडापखाला, पाँच जनाको सर्पले टोकेर र अर्का एक जनाको अन्य कारणले मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । उनीहरू सबैको मृत्युको मुख्य कारण बाढी नै भएको जनाइएको छ ।

बाढीका कारण सडक, विद्युत्, सञ्चार, खानेपानीलगायतका अत्यावश्यक सेवासमेत अवरुद्ध भएका छन् ।

बङ्लादेशको प्रकोप व्यवस्थापन तथा राहत मन्त्रालयले बाढीका कारण देशभरी २८ लाखभन्दा बढी मानिस प्रभावित भएको जनाएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घले दक्षिण एशियामा हालै भएका प्राकृतिक विपत्तिसम्बन्धी घटनाहरूका कारण झण्डै ९६ लाख मानिस प्रभावित भएका छन् । तीमध्ये धेरै जना भारत, बङ्लादेश र नेपालका रहेको पनि महासङ्घले बुधबार जनाएको छ ।

प्रभावित भएकामध्ये लाखौँ मानिस घरबारविहीन भएका छन् भने खाद्यान्नसहित अत्यावश्यक सामग्रीहरूको अभाव भएको छ ।

कोरोना भाइरसबाट प्रभावित भइरहेकै बेला यस क्षेत्रमा प्राकृतिक प्रकोपले मानिसलाई थप पीडित बनाएको मानवीय सहायताकर्मीहरूको भनाइ छ । एजेन्सी