उपत्यकाको निषेधाज्ञाबारे आज निर्णय हुने

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने विषयमा आज निर्णय गर्ने भएका छन् ।

निषेधाज्ञा खुकुलो बनाउन सरोकारवाला निकायले सुझाव दिए पनि यस विषयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर निर्णय गर्ने भएका हुन् ।

हिजो काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसीएमसी) को बैठकमा निषेधाज्ञा थप खुकुलो बनाउनेबारे छलफल भएको छ। ‘अब दुईचार दिनमा खाना बाँड्ने मान्छेको लस्कर लाग्न थाल्छ’ डिसिसीएमीको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले भने– ‘खाना बाँडेर फोटो खिचाउने संस्कारले संक्रमण झन् बढ्छ, त्यसैले जनजिविका सहज बनाउनका लागी खुकुलो बनाउनेतर्फ छलफल भयो ।’

तीनवटै जिल्लाका प्रजिअहरुले मंगलबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग जारी निषेधाज्ञाबारे समीक्षा गरेका छन् । छलफलमा गृहसचिव र प्रजिअहरुबीच जनस्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गरेर विस्तारै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने बारे कुराकानी भएको थियो । काठमाडौंका प्रजिअ जनकराज दाहालले निषेधाज्ञालाई जारी राख्ने वा खुकुलो बनाउने भन्नेमा बुधबार संयुक्त बैठक बसेर उचित निर्णय लिइने बताए ।