कोरोना संक्रमित कैदीको मृत्युमा परिवारको आशंका

काठमाडौं । केन्द्रीय कारागारको भद्र ब्लकमा जेल जीवन विताइरहेका रामलखन जैसवाललाई शनिबार राति ९ः४५ बजे एक्कासी श्वास फेर्न समस्या भयो ।

नाइकेले खबर गरेपछि प्रशासनले वीर अस्पताल पुर्‍यायो । पार्किन्सन (शरीर काम्ने नसासम्बन्धी एक प्रकारको रोग) बाट लामो समयदेखि ग्रसित जैसवाललाई चिकित्सकले मृत घोषित गरे । कारागारमा ठूलो संख्यामा कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण देखिएकाले अस्पतालले पिसीआर परीक्षण पनि गर्‍यो । परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटा बताउँछन् ।

त्यसपछि प्रशासनले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मा रहेको परिवारलाई खबर गर्‍यो । भैरहवाबाट जैसवालकी पत्नी, छोरी वीर अस्पताल आइपुगे । तर जैसवाललाई कोरोना पुष्टि भइसकेकाले अस्पताल प्रशासनले परिवारका सदस्यहरुलाई शव हेर्न दिएन । छोरी जबरजस्ती शव गृहमा प्रवेश गर्दा शवमा फोकाहरु देखिए, आँखा छेऊ रगत पनि देखियो । यसलाई परिवारले शंकास्पद मानेको छ ।