बागलुङ बाढीपहिरोमा अझै १५ जना बेपत्ता

बाग्लुङ । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ ।

 

भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन । पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो ।  लामो समयसम्म खोजी गर्दासमेत बेपत्ताको अवस्था पत्ता नलागेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय हुँदै देशभर उनीहरूको हुलियासहितको जानकारी पठाएको छ । खोला किनार र बाढीपहिरो प्रभावित क्षेत्र आसपास सक्रिय खोजी भने रोकिएको छ । ‘हामीले खोजी रोकेका छैनौँ, खोज्ने प्रक्रिया बद्लिएको छ,’ प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले भने, ‘सबै जानकारीसहितको विवरण देशभर पठाएका छौँ, सबैको अवस्था अज्ञात छ ।’

जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयको निर्देशनमा सबै बेपत्ताका परिवारलाई मृतकसरहको राहत उपलब्ध गराएको छ । भुजीखोलामा आएको बाढीपहिरोका कारण प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि प्रक्रिया शुरु भएको छ ।  बाढीपहिरोमा परी ढोरपाटन नगरपालिका–९ बोबाङका ३१ वर्षीय जीतबहादुर घर्ती मगर, नौ वर्षीय शेसन विक, चार वर्षीय रवि विक, २२ वर्षीय मनकुमारी विक, २१ वर्षीया टेकमाया विक, १० महिनाकी तिर्सना विक र १५ वर्षीया मनिषा विक बेपत्ता हुनुहुन्छ ।  बेपत्तामध्ये अधिकांश एकाघरका परिवार छन् ।

 

बाढीपहिरोमा बेपत्ता भएका ३८ जनामध्ये २२ जनाको शव फेला परेको थियो भने एक जना सकुशल भेटिएका थिए । बाढीपहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नं. ६, ७, ८ र ९ का १३० घरमा क्षति पुगेको तथ्याङ्क नगरपालिकासँग छ ।