साताको तेस्रो दिन सेयर बजार बढ्यो

काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से बढेको छ ।

आज सेयर बजारमा परिसूचक र कारोबार रकम दुबैमा उत्साह छाएको छ । दसैंपछिको पहिलो कारोबार दिन पछिकै उच्च अंकले बजार परिसूचक बढ्दा कारोबार रकम दसैं पछिकै उच्च रहेको छ ।

मंगलबार बजार परिसूचक नेप्से २५.९८ अंकले बढेर १६७८.७९ अंकमा पुगेको छ । पछिल्लो समय लगातर बढेको नेप्से आज ४२ महिना पछिकै उचाइमा पुगेको हो । २०७७ वैशाख १० गते नेप्से १६९३.७२ अंक रहेको थियो । त्यसपछि लगातार घटेको नेप्से २०७५ फागुन २१ मा ११००.५८ अंकसम्म झरेको थियो । तर, पछिल्ले समय लकडाउनमा ३ महिनाभन्दा बढी समय बन्द भएको नेप्से लकडाउन पछि खुलेसँगै लगातर बढ्दै अहिलेसम्मकै उच्च बिन्दु १८८१ लाई पछ्याउँदै गएको छ ।

तर, बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक नै बढ्न नसक्दा नेप्सेले नयाँ उचाइ कायम गर्न नसक्ने विश्लेषकहरु बताउँछन् । आज नेप्से करिब २६ अंकले बढ्दा पनि बैंकिङ समूहको सूचक भने ७.११ अंक अर्थात् ०.५५ प्रतिशत मात्रै बढेको छ । आज नेप्सेलाई अन्य र जीवन बिमा समूहको सूचकले लिड गरेको देखिन्छ ।

 

व्यापार समूहको सूचक सवार्धिक ७.८७ प्रतिशत र होटेल समूहको सूचक ४.९१ प्रतिशतले वृद्धि भए पनि बजार पुँजीकरण तुलनात्मक रुपमा धेरै रहेका अन्य समूहको सूचक ४.२ प्रतिशत र जीवन बिमा समूहको सूचक ४.८७ प्रतिशतले बढेको छ । जसले नेप्सेलाई उच्च अंकमा बढ्न मद्दत गरेको हो । यसबाहेक निर्जीवन बिमा समूहको सूचक पनि १.९४ प्रतिशत र उत्पादन समुहको सूचक १ प्रतिशत माथिले बढेको छ ।

नेप्से उच्च अंकमा वृद्धि भएपनि हाइड्रोपावर र म्युचुअल फन्ड समूहको सूचक भने घटेको छ ।  नेप्सेमा उत्साह देखिँदा कारोबार रकम पनि उल्लेख्य रुपमा बढेको छ । दसैं पछि पहिलो पटक ४ अर्ब माथिको कारोबार भएको छ । आज नेप्सेमा ३८ हजार ६३४ वटा कारोबारमा १९६ कम्पनीको ९६ लाख ५७ हजार ६७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ६१ लाख ९० हजारको कारोबार भएको छ ।

आज पनि नेप्सेमा कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीले नै नेतृत्व गरेको छ । कम्पनीको २८ करोड ५३ लाख ३२ हजारको कारोबार भएको छ । यस्तै नेपाल लाइफ, हिमालयन डिस्टिलरी, नेपाल दुरसञ्चार कम्पनीको २० करोड माथिको कारोबार हुँदा कामना सेवा विकास बैंकको पनि कारोबार रकम १६ करोड नाघेको छ ।

आज नेप्सेमा साल्ट ट्रेडीङ कर्पोरेसन र कर्पोरेट डेभलमेन्ट बैंकको सेयर मुल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सानिमा जनरल इनस्योरेन्सको पनि करिब १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लाग्दा नेपाल दुरसञ्चार कम्पनीको पनि ९.४९ प्रतिशतले बढेको छ । सेयर मुल्य घट्नेमा भने विशाल बजार कम्पनी, अरुण भ्याली हाइड्रोपावर विजय लघुवित्त र सांग्राीला डेभलमेन्ट बैंक लगायत अगाडि छन् ।