कुखुरा बोक्ने गाडी ट्रकसगं ठोक्किदा तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कंलकीस्थित मकालु पेट्रोल पम्प अगाडि कुखुरा बोक्ने गाडी रोकिरहेको ट्रकमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी ठोक्किँदा सोही कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको हो ।  महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डीएसपी अपिलराज बोहोराले घाइते ४ जना मध्ये ३ जनाको मृत्यु भएको र १ जना घाइते भएको जानकारी दिए ।

कुखुरा बोक्ने गाडीमा सवार ४ जना नजिकै रहेको कलंकीस्थित सहिद अस्पतालमा उपचारको क्रममा ३ जना व्यक्तिको मृत्यु भएको डिएसपी बोहोराको भनाइ छ ।

मृत्यु हुनेमा नुवाकोटका वर्ष २४ का रोशन तामाङ, नुवाकोटकै वर्ष ३७ का माधव घिमिरे र नुवाकोटका वर्ष २७ का भुपेन्द्र तामाङ रहेको डीएसपी बोहराले रातोपाटीलाई जानकारी दिए ।

यस्तै दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको डीएसपी बोहराले बताए । दुवै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।