मोरङमा ८ वर्षीय बालिका बलात्कारको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ

विराटनगर । मोरङमा सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रतुवाई नगरपालिकाका ६६ वर्षीय फौदीलाल मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घाँस काट्न गएकी ८ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई शनिबार पक्राउ गरिएको हो ।  बालिकाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेकोछ ।

प्रहरीका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी छ । प्रहरीले दिएको जानकारी अनुसार घटना शुक्रबार दिउँसो करिब ३ बजेतिरको हो ।

सुस्तमनस्थितिकी बालिका बोल्न सक्दिनन् । घाँस काट्न उनीसँगै गएका बहिनीहरुले दिदीमाथि करणी भएको देखेपछि घटना बाहिर आएको हो । पक्राउ परेका वृद्धमाथि थप अनुसन्धान भइरहेको छ ।