जब श्रीमतीको हत्यापछि श्रीमानले लुटे गहना !

काठमाडौं । बल्खुको सुकुम्बासी बस्तीमा श्रीमतीको हत्यापछि श्रीमान् सन्तोष सापकोटाले गहना लुटेर लगेको पाइएको छ ।

सामान्य विवादका क्रममा भएको झगडामा हतौडा प्रहार गरी श्रीमती सन्तोषी श्रेष्ठ सापकोटाको हत्या गरेपछि गहना लुटेको पाइएको हो ।

प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले भने, ‘हत्यापछि मृतकको हातको बाला, दुईवटा मुन्द्रा, २३ हजार रुपैयाँ नगद र आइफोन समेत लिएर भागेको अवस्थामा उनलाई पक्राउ गरेका छौँ।’ सिंहका अनुसार सन्तोष लागूऔषध दुर्व्यसनी समेत हुन् ।

नियमित लागूऔषध सेवन गर्नुपर्ने व्यक्तिलाई पैसाको अभाव भएकाले उनले हत्यापछि श्रीमतीको गहना लुटेको हुन सक्ने भनिएको छ । प्रहरीसँग दिएको बयानका क्रममा उनले श्रीमती सन्तोषीले पनि आफूले चिथोरेको र जवाफमा हतौडाले हानेको भनेका छन् ।

सोमबार साँझ बल्खुस्थित सकुम्बासी बस्तीमा बोरामा हालेर फालिएको अवस्थामा महिलाको शव भेटिएको थियो । रगतले लत्पतिएको बोरा देखेर स्थानीयले खबर गरेपछि अनुसन्धान थालेको प्रहरीले शव सन्तोषीको भएको पत्ता लगाएको थियो ।