‘हनी ट्रयाप’मा फसाई रकम असुल्ने दुई महिला पक्राउ

काठमाडौँ । ‘हनी ट्रयाप’मा फसाई रकम असुल्ने कार्यमा संलग्न दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारको झुठो आरोपमा दोषी ठहर गर्दै सुर्खेत जिल्ला अदालतबाट साढे तीन वर्षको जेल सजाय सुनाइएकी ललिता भन्ने लालसरी शाही र कल्पना हमाललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका वडा नं.३२, कोटेश्वर बस्ने पुरुषलाई सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई कोठमा सँगै बसेको र सँगै बसेको भिडियो गोप्य रुपमा रेकर्ड गरी म्यासेन्जरमार्फत पीडितलाई पठाएर ‘ब्ल्याकमेलिङ’ गरी पटक पटक आईएमईमार्फत लाखौँ रकम असुलेको आरोपमा उनीहरु पक्राउ परेका प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले काठमाडौँको विभिन्न स्थानबाट उनीहरुलाई यही चैत ४ गते (बुधबार) पक्राउ गरेको हो । प्रारम्भिक अुनसन्धान पश्चात थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको छ ।

सुर्खेत जिल्ला विरेन्द्रनगर वडा नं.१० स्थायी ठेगाना भएकी ३७ वर्षीया शाही काठमाडौँ, घट्टेकुलोमा बस्दै आएकी थिइन् भने सोही स्थायी ठेगाना भएकी ३७ वर्षीया हमाल भने कपनमा बस्दै आएकी थिइन् ।