नेपालकै होचो भू–भाग कचनकवलको विकास गर्न सरकारको ध्यानाकर्षण

भद्रपुर (पास)– नेपालकै होचो भू–भागको रुपमा परिचित कचनकवल गाउँपालिकाका जनप्रतिनिधिले त्यस क्षेत्रका विभिन्न समस्याको उजागर गरेका छन् ।

कचनकवल धेरै समस्यामा गुज्रिरहेको भन्दै उनीहरुले जिल्लाको दुर्गम र विकासको दृष्टिले पछाडि परेको त्यस गाउँपालिकाको समस्या समाधानमा प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् ।

स्थानीय तह निर्वाचनपछि जनताको अपेक्षा अत्यधिक रहेको तर, त्यस अनुसार काम गर्न विभिन्न समस्या आइपरेको त्यहाँका जनप्रतिनिधिले औल्याएका छन् ।

संवाद समूह झापाको संयोजनमा केही दिन पहिले भएको छलफलमा गाउँपालिका अध्यक्ष अञ्जार आलामले कानूनी अन्यौलता, जनशक्ति अभाव, स्रोत र साधनको अभाव, हात्ती आतंक, नागरिकता, विकास निर्माणको समस्या रहेको जानकारी दिए ।

उनले कचनकवलका बासिन्दाको स्वास्थ्यमा पहुँच नरहेको, विकासमा धेरै पछाडि परेको बताउँदै अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने कुरामा जोड दिए ।

त्यसका लागि सरकारले कचनकवललाई विशेष प्राथमिकतामा राखेर हेर्नुपर्ने अध्यक्ष अञ्जराले भन्दै यस क्षेत्रमा सञ्चालित प्रधानमन्त्री कृषि परियोजनालाई अझ प्रभावकारी बनाउनुपर्ने भने ।

गाउँपालिकाकी उपाध्यक्ष निमसरि राजवंशीले आन्तरिक तथा बाह्य समस्याबारे जानकारी दिँदै विवाद समाधानमा आवश्यक तालीम, जनशक्ति र स्रोतसाधनको अभाव रहेको उनको गुनासो थियो । आदिवासी बाहुल्य सो क्षेत्रमा चेतनाको स्तर कम रहेको, विरीङ खोलामा झुलुङ्गे पुलको आवश्यकता, शिक्षा र स्वास्थ्यमा पहुँच अभिवृद्धि, नागरिकतालगायतका समस्या बारेमा प्रष्ट पारे ।

समस्यासँगै उनीहरुले कचनकवल देशकै होचो भू–भाग, भारतीय सीमावर्ती क्षेत्र, सिमसार क्षेत्र, मन्दिर, वनजंगललगायत पर्यटन पूर्वाधारका थुप्रै सम्भावना बोकेको यो क्षेत्रको विकास गर्न सरकारले विशेष बजेटको व्यवस्था गर्न माग गरे ।

गाउँपालिकाका कार्यकारी अधिकृत रेखनाथ दाहालले प्रदेश सरकारले स्थानीय तहसँग समन्वय नगरेको, कानून बनाउन नसक्नुजस्ता समस्या औल्याउँदै कचनकवल गाउँपालिका–१ का अध्यक्ष लक्ष्मीनारायण यादव, वडा नं २ का अध्यक्ष मेखबहादुर भट्टराई, वडा नं ३ का अध्यक्ष विजय राजवंशी, वडा नं ४ का अध्यक्ष महेशलाल गणेश, वडा नं ५ का अध्यक्ष परमानन्द राजवंशी, वडा नं ६ का अध्यक्ष कुलबहादुर कार्की र वडा नं ७ का अध्यक्ष भरत राजवंशीले आ–आफ्नो वडाको समस्या तथा चुनौतीबारे अवगत गराएका थिए ।

उनीहरुले मेची नदी र विरीङ नदीमा तटबन्ध, बाटो, विद्युत्, खाने पानी, स्वास्थ्य, सुरक्षा, सञ्चार, शिक्षा, पुलजस्ता समस्या औंल्याएका छन् । त्यस्तै कचनकवलमा छोटी भन्सार कार्यालयको समेत माग गरिएको छ ।

भन्सार नहुँदा स्थानीय व्यापारीले भारतबाट ल्याएको थोरै सामान पनि प्रहरीले जफत गरेर समस्या उत्पन्न हुने गरेको उनीहरुको भनाइ छ ।

त्यस क्षेत्रका संघ संस्थाले गाउँपालिकाप्रति बढी अपेक्षा गर्दा बजेट विनियोजनमा समस्या र विवाद उत्पन्न हुने गरेको समस्या विद्यामान रहको बताइएको छ ।

राजनीतिक दलको भने राम्रो समन्वय र सहयोग रहेको भन्दै कचनकवलका जनप्रतिनिधिले प्रशंसा पनि गरेका छन् ।