संसद बैठक स्थगित गर्ने ओलीको तयारी

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनापछि संसदलाई बिजनेस दिन नसकिरहेको सरकारले संसद बैठक स्थगन गर्ने तयारी थालेको छ ।

बैशाखमै बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले जारी बैठक तत्काल स्थगन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो ।

‘प्रधानमन्त्री केपी शर्मा ओली तत्कालै संसद बैठक अन्त्य गर्ने पक्षमा हुनुहुन्छ,’ स्रोतले भन्यो, यसबारे राष्ट्रपति र सभामुखसँग पनि प्रधानमन्त्रीले छलफल गरिसक्नुभएको छ ।’

प्रधानमन्त्री ओलीले तीन दिनअघि बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकमा पनि बर्खे अधिवेशन बैशाखमै सुरु गर्नुपर्ने भएकाले जारी संसद बैठक अन्त्य गर्ने तयारी भइरहेको जानकारी गराएका थिए ।

गत पुस ५ गते ओलीले संसद विघटन गरेपछि सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनस्थापना गरिदिएको थियो । अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन निर्देशन दिएपछि तोकिएकै मितिमा बैठक सुरु भए पनि संसदले सरकारबाट बिजनेस पाउन सकेको छैन ।

ओलीको विरोध गर्दै सडकमा उत्रेका विपक्षीहरुले पनि यसवीचमा संसदमा ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सकेनन् । यसैवीच माओवादीले ओली सरकारलाई दिँदै आएको समर्थन केही दिनभित्रै फिर्ता लिने तयारी भइरहेको नेकपा माओवादी केन्द्रका एक नेताले बताए ।