अदालत मजाक गर्ने ठाउँ होइन : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रले निवेदन दर्ता गराएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीको एकता भंग गर्ने अदालतको निर्णयको बचाउ गर्दै अदालतले पार्टी फुटाएको भन्नु नै गलत हुने बताए । माओवादी केन्द्र पुनरावलोकनका लागि गएकोमा चर्को आल‍ोचना गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘अदालत मजाक गर्ने ठाउँ हो ?’ ओलीले नेकपाको एकता सर्वोच्चको फैसला अघि नै तोडिएको बताए ।

उनले भने, ‘तपाईंहरूले एउटा क्लासमा जाँच दिएर फेल भएपछि उही क्लासमा फर्किनुहुन्छ नि । अदालतले हाम्रो दर्ता खारेज भयो भनेपछि पहिलेकै ठाउँमा आयो । आदालतले निर्वाचन आयोगलाई १५ दिनको म्याद देउ भनेको थियो । नयाँ नाम लिएर फेरि एउटै पार्टी बनाउन सकिन्थ्यो नि ? एकता गर्नै खोजेको हो भने नयाँ नाम लिएर जाँदा हुन्थ्यो ।’ उनले पुनः एकताको विषयमा कुरा गर्न आफूले प्रचण्डलाई फोन गरेको पनि बताए । तर, त्यो विषयलाई प्रचण्डले अखबारवाजी गरेको आरोप लगाए ।

‘एकता बाँकी थियो र अदालतले भंग गर्ने ? जहाँ अध्यक्षलाई दलको नेताबाट, पार्टीको साधारण सदस्यबाट समेत हटाइन्छ, त्यहाँ एकता थियो भनेर ढाँट कुरा गर्ने ? तैपनि मैले कुरा गर्नलाई फोन गरेँ । उहाँले मजाक बनाएर अखबारवाजी गर्नुभो । अहिले एकताको कुरा गर्दै हुनुहुन्छ । दिँदा नखाने राति गएर कोल चाट्ने ?’  ओलीले प्रचण्डको स्वार्थका पछाडि देश सती जान नसक्ने बताए । प्रचण्डसँग आधा-आधा प्रधानमन्त्री चलाउने पूर्वसहमति प्रचण्डले नै च्यातेको उनको जिकिर थियो ।