पेट्रोलियम पदार्थको गुणस्तरमा निगमलाई दोष लगाउन नमिल्ने : पौडेल

काठमाडौं । पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन नमिल्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताएका छन् ।

समय–समयमा नेपालमा आयत हुने पेट्रोलियम पदार्थ कम गुणस्तरको रहेको र त्यस्ता कम गुणस्तरको पेट्रोलियम पदार्थले सवारीसाधन लगायत अन्य वस्तुहरुमा समस्या आएको विभिन्न सरोकारवाला निकायहरुले आपत्ति जनाउने गरेकोमा कार्यकारी निर्देशक पौडेलको यस्तो भनाई आएको हो ।

‘आजको दिनमा क्वालिटीको विषयमा निगम सुतेको पनि छैन, यो कस्तो हो भने निगमको अहिलेको मान्यता भनेको के हो भने, नो न्यूज इज गूड न्यूज, कुनै पनि समाचार नै नआओस्, त्यो भनेको राम्रो हो । घरमा बुबा बिरामी हुनुभयो भने त पक्कै पनि समाचार आइहाल्छ नि बिरामी हुनुभयो भनेर केही समाचार आएन भने बुबा पनि सन्चो हुनुहुन्छ भन्ने मान्यता हो ।’ कार्यकारी निर्देशकले भने, ‘पेट्रोलियम पदार्थको गुणस्तरमा निगमले सुक्ष्म अध्ययन र गुणस्तरको जाँच गरिरहेको छ । पेट्रोल भारतबाट ल्याइने र बिसाउने बाटा धेरै रहेकाले नेपालमा पाइपलाइनबाट पेट्रोल आइसकेपछि गुणस्तरको सम्पूर्ण समस्या समाधान हुन्छ ।’

कार्यकारी निर्देशक पौडेलले नेपाल आयल निगम गत वर्षको जनवरीदेखि नै घाटामा रहेको बताए । उनले मूल्य बढेपछि अहिलेसम्म ३३ रुपैयाँसम्म मूल्य समायोजन भइसकेको बताउँदै पछिल्लो २ वर्षमा १७–१८ रुपैयाँ घटाएको बताए ।

आम नागरिकको सहजकर्ताको रूपमा रहेको निगमले २०७० सालपछि स्वचालित मूल्य दरको नियम बनाए पनि पूर्णरूपमा कार्यान्वयन हुन नसकेको निगमका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले बताए ।