यसरी तड्पाई–तड्पाई महान सहिदहरुको प्राण लिइएको थियो

आज हामीले तीनै वीर सहिदहरु जसको घाँटीमा पासो लगाएर र छात्तिमा बन्दुकको नाल तेर्साएर माफी माग र आफ्नो प्राण बचाऊ भनिरहँदा तात्कालिन शासकहरुसमक्ष उनीहरुले व्यक्त गरेका बलिदानको गाथा र व्यक्तिगत जीवनबारे यो विशेष शब्दचित्र प्रस्तुत गरेका छौँ ।

धर्मभक्त माथेमाको यस्तो छ बलिदानको गाथा

मृत्युदण्डको फैसला कार्यान्वयन गर्ने दिन १३ माघको राति धर्मभक्तलाई लरीमा चढाएर सिफल पुर्याइएको थियो। सिफल पुर्याइँदा धर्मभक्त अर्धचेत अवस्थामा रहेको कुरा वि.सं. २०५८ मा प्रकाशित आत्मकथामा नर शमशेरले उल्लेख गरेका छन् । ‘त्यसदिन अफिम खाएर हो वा के भएर हो, धर्मभक्त अलि अर्धचेतजस्ता भइसकेका थिए, लरीमा चढाउँदा समेत उनको अर्धचेत पहलमानी शरीरलाई ७–८ जना सिपाहीले बोकेरै उचाल्नु परेको थियो,’ नर शमशेरले भनेका छन्, ‘लरीबाट ओराल्दा पनि सबै सिपाही मिली उनको अर्धचेतन शरीरलाई थामी ओराल्नु परेको थियो।’
अन्य तीन सहिदहरुलाई झैँ धर्मभक्तलाई पनि मृत्युदण्ड दिने जिम्मेवारी नर शमशेरले पाएका थिए। तर, तिनै नर शमशेरले धर्मभक्तबाट पहलमानीसम्बन्धी शिक्षा प्राप्त गरेका थिए। अर्थात्, नेपालका नामुद पहलमान मानिने नर शमशेरका गुरु सहिद धर्मभक्त थिए।

नर शमशेरका अनुसार राजा त्रिभुवनलाई व्यायाम सिकाउन धर्मभक्तलाई उनले कलकत्ताबाट काठमाडौँ ल्याएका थिए। नर शमशेरले लेखेका छन्, ‘वि.सं. १९८८ तिर श्री ५ त्रिभुवनले मलाई ‘बडी बिल्डिङ’ गर्न सिकाउने राम्रो प्रशिक्षक चाहिएको छ, तिमी कलकत्तातिर जाँदा त्यस्तो कोही मान्छे फेला पारेमा काठमाडौँ ल्याइदेऊ हुकुम भएको थियोे,’ नर शमशेरले भनेका छन्, ‘धर्मभक्तसँग कुरा गरी उसलाई फकाएर नारायणहिटी दरबार लगी श्री ५ त्रिभुवनकहाँ खरदारी दर्जा दिलाई काममा लगाइदिएको थिएँ।’

नर शमशेरका भनाइमा धर्मभक्तलाई झुण्ड्याउन हाँगामा डोरी तयार पार्न २ जना पोडे खटिएका थिए। उनीहरुले तयार पारेको डोरीमा धर्मभक्तलाई पासो हाल्न पनि सिपाहीहरु प्रयोग भए। उनी भन्छन्, ‘पहिलोचोटि धर्मभक्त उभिएको त्रिपाइ उसको खुट्टा मुनिबाट पोडेले तान्दा तान्दा हाँगा काँचो, लचिलो भइदिँदा उसको खुट्टाले भुइँ छोयो र मृत्यु हुनुको सट्टा डोरीको पासोले घाँटी कप्ल्याक–क्याप्लाक मात्र भयो।’ ‘त्यसपछि तुरुन्त डोरी फुकाई पछि फेरि अर्काे हाँगामा बाँधी उसलाई झुण्ड्याइयो, त्यो हाँगो चाहिँ सुकेर खोक्रो भइसकेको कारण ठनक्कै भाँचिई धर्मभक्तको शरीर भुइँमा थचारियो,’ उनी थप भन्छन्, ‘त्यसपछि पुनः तेस्रो पटक अर्काे दह्रो हाँगा छानी त्यसमा डोरी बाँध्न लगाई झुण्ड्याउँदा बल्ल उसको प्राण गयो।’

मृत्युदण्डको तयारीका लागि राणा प्रशासनले किटनी (गोदावरी, ललितपुर) निवासी कृष्णबहादुर थापा नामका सैनिक लप्टनलाई खटाएको थियो। लप्टन थापाले बताएअनुसार लरीमा राखी दुई जना पोडेका साथ सिफल पुर्याइँदा धर्मभक्तको हात पछाडि लगी बाँधिएको थियो, आँखामा पट्टी लगाइएको थियो। मृत्युदण्ड दिन लागिएको व्यक्तिसँग अन्तिम इच्छा सोध्ने प्रचलन अनुसार नर शमशेरले पनि धर्मभक्तको अन्तिम इच्छा सोधे। धर्मभक्तले जवाफ दिए, ‘राणा शासन छिट्टै अन्त्य भएको हेर्न मन छ।’

त्यसपछि फाँसी चढाउन तयार गरिएको रुखको दक्षिणतर्फको हाँगोमुनि रहेको पर्खालमा धर्मभक्तलाई उभ्याइयो र उनले टेकेको पर्खाल भत्काइयो । तर, पर्खाल भत्काएपछि धर्मभक्तको शरीरको भारका कारण उनलाई झुण्ड्याइएको रुखको हाँगो लच्किन पुग्यो, धर्मभक्तले जमिन टेक्न पुगे।

फाँसीको पहिलो प्रयास असफल भएपछि तत्कालै त्यही रुखको दक्षिणतर्फ नै फर्केको मोटो हाँगोमा फाँसीको फन्दा तयार पारियो। धर्मभक्तलाई त्यो फन्दामा लट्काइयो र गाह्रो भत्काइयो।

तर, यसपटक भने डोरी नै छिन्यो। धर्मभक्तको ज्यान लिने दोस्रो प्रयास पनि सफल भएन। लप्टन थापा भन्छन्, ‘धर्मभक्तको घाँटीमा कसिएको डोरी फुकाल्न लाग्दा चाँडो फुकाल्न सकिएन। नर शमशेरले छिटो गर, छिटो गर भन्दै आफैँले चक्कु लिई फाँसीको डोरी काटे र फेरि तेस्रो पटक उनलाई झुण्ड्याउन तयार गर्ने आदेश दिए।’ पटक–पटक झुण्ड्याउने प्रयासपछि धर्मभक्त पूर्णरुपमा होसमा आइसकेका थिए। अब उनले प्रतिरोध सुरु गरे।

लप्टन थापाका भनाइमा धर्मभक्तले नर शमशेरसँग भनेका थिए, ‘म हजुरको गुरु हुँ। दुई पटकसम्म फाँसीबाट बाँचिसकेँ। यस्तो अवस्थामा फेरि फाँसी दिनु न्यायसंगत होइन।’

यसरी फाँसीको प्रयास दुईपटक असफल भएपछि जब धर्मभक्तले तेस्रो प्रयासको विरोध गरे, नर शमशेरको जवाफ थियो, ‘तँलाई के को न्याय, झण्डै मलाई समेत मुछेको थिइस्।’ यति भन्दै नर शमशेरले साथमा रहेको चक्कुले धर्मभक्तको गालामा प्रहार गरे। त्यसपछि धर्मभक्त पनि जाइलागे।

‘नर शमशेरले हातमा लिएको चक्कुले धर्मभक्तको गालादेखि चिउँडोसम्म काटिदिए’, इतिहासकार डा. गौतमसँग लप्टन थापाले भनेका छन्, ‘त्यसपछि धर्मभक्त ज्यादै रिसाए, नर शमशेरलाई एक लात हाने। नर शमशेर सम्हालिन सकेनन् र ५–६ हात पर हुत्तिँदै गएर लडे।’

थापाका भनाइमा त्यसपछि नर शमशेरको आदेशमा १०–१५ जना सैनिकहरु धर्मभक्तमाथि जाइलागे। लगातारको कुटाइका कारण धर्मभक्त मुर्छा परे।

‘त्यसपछि उक्त रुखको पश्चिमपट्टिको हाँगामा फेरि फाँसीको डोरी झुण्ड्याइयो’, थापा भन्छन्, ‘मुर्छा परेका धर्मभक्तलाई ८–९ जना सिपाहीहरुले समातेर उभ्याई फाँसीको डोरी घाँटीमा लगाई तेस्रो चोटि उनलाई झुण्ड्याइयो।’ १४ माघ (१९९७) का दिन सिफलको बाटो हुँदै पशुपति जाँदा सहिद धर्मभक्तको झुण्डिएको शव देख्नेमा साहित्यकार भीमनिधि तिवारी पनि थिए। तिवारीले लेखेका छन्, ‘धर्मभक्तको घाँटी छड्के परेको थियो। आँखा चिम्लेका थिए। मुखबाट रगत आएको थियो। चिउँडोदेखि गालासम्म कटकटिएको रगतको एक धर्साे थियो। टाउकोमा माथितिर फर्काएको कपाल थियो। उनको गोडाको टुप्पाले भुइँ छुनै लागेको अवस्थामा थियो।’

त्यस्तै अर्का शहीद शुक्रराज शास्त्रीले निडररुपमा तात्कालिन शासकहरुको विभिन्न विषयहरुमा प्रतिवाद गरेका कारण तात्कालिन शासकहरुले आफ्ना मानिसहरु लगाएर कुल्ची–कुल्ची मार्ने धम्की दिएका थिए । यसरी धम्की दिएपनि जुद्ध शमशेर आफैँले पनि त्यो भारदारी सभामा मृत्युदण्डको सजाय सुनाउन सकेनन्। खासमा राजा त्रिभुवनले अस्वीकार गरेपछि त्यहीँ सजाय सुनाउने योजना तुहियो ।

श्री ३ जुद्ध त्यसदिन नागार्जुन दरबारबाट सिंहदरबार आइपुगेका थिए। सजाय सुनाउने कुरामा श्री ५ त्रिभुवनले अस्वीकार गरेपछि श्री ३ जुद्ध नागार्जुन फर्के । साँझपख सिंहदरबार अघिल्तिर रहेको पोखरीको छेवैमा अर्काे सभा आयोजना गरियो। राजबन्दीहरुलाई राखेर पद्म शमशेर, मोहन शमशेरहरुको उपस्थितिमा शास्त्री र प्रजा परिषदका कार्यकर्ताहरुलाई मृत्युदण्ड लगायतको सजाय सुनाइएको थियो। तीन वर्षे कैद सजाय भुक्तान गरी १० महिनापछि रिहा गर्नुपर्ने शास्त्रीलाई समेत शासकहरुले मृत्युदण्डको सजाय सुनाए।

१० माघको राति ९ बजे जेलबाट निकालिएका शुक्रराज शास्त्रीलाई माघको कठ्याङ्ग्रिने जाडोमा जेलबाहिरको चौकीमा २–३ घण्टा त्यत्तिकै राखियो। उनी १२ बजेसम्म चौकीमै रहे ।

पचली (टेकु) मा रहेको खरीको रुखमा शास्त्रीलाई फाँसी दिने कामका लागि खटिएका थिए, श्री ३ जुद्धका नाति नरशमशेर। यसबाहेक जुद्धका छोरा हरि शमशेर, कर्णेल रंगविक्रम शाह, जेलर खड्कबहादुर सुनुवारपनि उपस्थित थिए।

शास्त्रीलाई जेलबाट मृत्युदण्डस्थलसम्म पुर्याउँदा लरी (ट्रक) प्रयोग गरिएको थियो। नरशमशेरका भनाइमा, बाटोभरि शुक्रराज शास्त्रीले ठुल्ठूलो स्वरमा संस्कृतका श्लोकहरु वाचन गरेका थिए। त्यसैक्रममा एउटा सिपाहीले ‘के कराएको?’ भनेर शास्त्रीलाई लहरीभित्रै हकार्यो। त्यसपछि ‘मर्ने बेलामा पनि पाठ गर्न नपाइने?’ भन्दै झन् ठूलो स्वरले पाठ गर्दै शुक्रराज पचली पुगे।

लरीबाट ओरालेर झुण्ड्याइनुअघि नरशमशेरले शास्त्रीको अन्तिम इच्छा सोधेका थिए। ‘शुक्रराज शास्त्रीले बागमतिमा स्नान गरेर मर्न पाऊँ भने’, भनेपछि उनलाई त्यो मोका दिइयो र ‘स्नान गरी धोतीपाटा फेरी ठूलो स्वरले नै पाठ गर्दै झुण्ड्याउने स्थानमा आइपुगे।’ मृत्युदण्डका क्रममा शास्त्रीले झुण्ड्याउन तयारी पारिएको डोरी आफैँले घाँटीमा कसे। उनलाई झुण्ड्याउन एक जना पोडेलाई तयार गरिएको थियो। झुण्ड्याइनुअघि शुक्रराजले पोडेलाई आफ्नो हातको घडी हस्तान्तरण गरे । ‘आफैँले डोरी आफ्नो घाँटीमा हालिसकेपछि झुण्ड्याउन तयार बसेको पोडेलाई आफ्नो नाडीमा बाँधेको घडी फुकाली दिएर ‘धेरै दुःख नहुने गरी एकैपटकमा झुण्ड्याइ देऊ है’ भनी (शुक्रराजले) आग्रह गरे’ नरशमशेरले आफ्नो आत्मकथामा भनेका छन्, ‘पोडेले पनि शुक्रराज उभिएको खटिया एकैचोटिमा झ्वाट्ट तानी दियो र उनी सहजै विनाकष्ट प्राणमुक्त भए।’

१० माघको मध्यरातमा पचली (टेकु) मा मृत्युदण्ड दिइएका शुक्रराजको शव ११ माघ मध्यान्हसम्म जस्ताको तस्तै झुण्ड्याएरै राखियो। ‘उनको लास त्यस दिन (११ माघ) भर झुण्ड्याएको अवस्थामा प्रदर्शन गरियो, मानिसहरु आई हेर्दै गहभरि आँसु लिँदै फर्के। मानिसको ओहोरदोहोर हामीले पनि जेलको झ्यालबाट देख्यौँ।’

त्यसैगरी अर्का सहिद गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिनु अगाडि मृत्युदण्ड दिन आदेश गर्ने अधिकारी र गंगालालका बीच भएको सम्वाद अत्यन्त मार्मिक थियो । हेर्ने मानिसहरु स्तब्ध, अधिकांश मानिसहरुका आँखाबाट आँसु बगिरहेको थियो । यस्तो अवस्थामा सहिद गंगालाललाई पटक पटक माफी माग्न आदेश दिंदा रहेछन्, तर उनी अस्विकार गर्दा रहेछन्, सोहि समयमा उनीको छोरा जन्मिएकाले उक्त सुखद् समाचार सुनाएर पुनः माफी माग्न भन्दा पनि उनीको निर्भिकतामा कुनै प्रकारको कमी आएनछ ।

अझ उनीले यसरी जवाफ दिएछन् – ‘मेरो छोरो जन्मिएको भए राम्रो भयो, तर मलाई छोरो जन्मेको मोहमा नफसाउ, सूर्य अस्तपछि चन्द्रमाको उदय भएजस्तै मेरो अन्तसँगै मेरो छोराको जन्म भएकोमा म हर्षित छु । म माफी माग्दिन, आफू एकतन्त्रीय निरंकुश शासन व्यवस्थाको अन्त्य र प्रजातन्त्रको स्थापनाको लागि योद्धाको रुपमा समर्पित भई मैदानमा उत्रेको हुँदा मलाई कुनै प्रकारको डर–त्रास, लोभ, माया–मोह केही छैन । म मर्न तयार छु मलाई गोली प्रहार गरेर मार्ने निरंकुश राणा सरकारले निश्चित गरेको हुँदा छिटो भन्दा छिटो मलाई गोली प्रहार गर, म मरेपछि निरंकुश राणा सरकारको विरोधमा लडाइँ गर्ने लाखाँैं योद्धा तयार हुनेछन्, जसले राणा शासनको अन्त्य गरि प्रजातन्त्रको स्थापना गर्नेछन् आदित्यादि भनि म माफी माग्दिन भन्ने सम्वादपछि गंगालाललाई गोली प्रहार गरेको थियो । उक्त समयमा कलिलो उमेरको युवकको साहस र देशका लागि दिएको योगदान (जीवन आहुति)ले धेरै मानिसमा पे्ररणा र केही मानिसमा भने त्रास फैलाएको रहेछ ।

हामीले यो सामाग्री तयार गर्दा २०५८ मा प्रकाशित नर शमशेरको आत्मकथा, डा.केशब सापकोटाको राणाकालीन तालुकदार र मुक्ते घर्ती नामक पुस्तक, पुरुषोत्तम शमशेर जबराको पुस्तक ‘मेरा जीवनका स्मृतिहरू’ र दमनराज तुलाधरको आत्मकथालाई सन्दर्भसमाग्रीको रुपमा लिएका छौँ । त्यस्तै गोरखापत्र अनलाईन, नेपालखबर डटकममा सीताराम बरालका लेख पनि सन्दर्भस्रोत हुन् ।