अब सरकारले गोठालो भत्ता पनि दिने

काठमाडौं । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा गोठालो भत्ता दिने निर्णय गरेको छ । कर्णाली प्रदेशका हिमाली जिल्लाका कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा ५० भन्दा बढी भेडा ब्राखा पाल्ने किसानलाई गोठालो भत्ता निर्णय गरेको हो ।

५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानलाई मासिक पन्ध्र सय गोठालो भत्ता दिने भूमि व्यवस्था, प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । भेडाब्राखा पाल्ने किसानलाई गोठालो भत्ता दिनका लागि चालु आर्थिक वर्षमा ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

भेडाब्राखा पाल्ने किसानलाई गोठालो भत्ताका लागि अहिले जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयका लगत संकलन भइरहेको जनाईएको छ ।

कालीकोटको पचालझरना गाउँपालिकाले दुई वर्षदेखि गोठालो भत्ता दिँदै आएको छ ।

गोठालो भत्ताका लागि २६५ किसानले आवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागी उनीहरुले आवेदन दिएका हुन् ।

पशुसेवा कार्यालयले भत्ताका लागि आवेदन दिन भेडापालक किसानलाई आह्वान गरेको थियो । कर्णाली प्रदेशले भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ताको कार्यक्रम अघि बढाएको हो ।

कार्यालय प्रमुख गोविन्द महतका अनुसार छनौट प्रक्रिया अघि बढाइएको छ । सो विषयमा जानकारी लिन कर्मचारी किसानको घरघरमा खटाइएको छ । प्रतिवेदन आएपछि भत्ता वितरण गरिने महतले बताउनुभयो ।

पचासभन्दा बढी भेडा पाल्ने किसानलाई मासिक रु १ हजार ५०० का दरले वितरण गरिनेछ । जिल्लाका १५० किसानलाई गोठालो भत्ता दिने कार्यक्रम छ । रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिनेछ ।