राप्रपा नेपालको अध्यक्षमा कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी नयाँ पार्टी दर्ता गर्ने तयारी थालेका कमल थापा अब ‘राप्रपा नेपाल’ को अध्यक्ष बनेका छन् ।

निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उनी अध्यक्ष बनेका हुन् । राप्रपाबाट निस्केर थापाले नयाँ नाममा पार्टी दर्ता गर्ने तयारी गरेको भएपनि थापाले पुरानै राप्रपा नेपाल ब्यूँताएका हुन् । राप्रपा नेपाल विगतमा कमल थापाले नै स्थापना गरेको पार्टी हो ।

वि।स। २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो । त्यसपश्चात राप्रपा नेपालको नाममा अर्को पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो ।

यो पार्टीका अध्यक्ष लाक्पा शेर्पा थिए । शेर्पाले पार्टीको नेतृत्व त्याग्दै कमल थापालाई अध्यक्षमा चयन गरेको जानकारी दिए ।

यससँगै थापा अब राप्रपा नेपालका अध्यक्ष बन्नुभएको छ । राप्रपा नेपाल ब्यूत्याएसँगै थापाले पार्टी ठूलो बनाउने नाममा अति महत्वाकांक्षा र सत्ता केन्द्रित रणभुल्लमा परेको स्वीकार पनि गरेका छन् । राप्रपा नेपालमा आवद्ध भएसँगै अध्यक्ष भएका थापाले केही समयको अलमलपछि आफू पुनः पार्टीमा फर्किएको बताए ।