पल विरुद्ध समीक्षाले दिइन् प्रहरीमा जवरजस्ती करणीसम्बन्धि जाहेरी

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाहविरुद्ध जाहेरी आज दर्ता गरेकी हुन् ।

नायक पलले एउटा कुराकानीमा समीक्षासँग आफ्नो शारीरिक सम्बन्ध रहेको स्वीकारोक्ति गरेको अडिओ सार्वजनिक भएको थियो । समीक्षा उमेरले १७ वर्षकी छिन् । नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरी÷बालिकासँग सहमतिमै राखेको यौन सम्बन्धलाई पनि जबर्जस्ती करणी मान्छ । यसमा कडा सजायको व्यवस्था छ ।

पल र समीक्षाबीचको सम्बन्ध पुष्टि हुने यथेष्ट प्रमाणहरू बाहिर आइसकेका छन् । यद्यपि, अझै पनि पलले स्वीकार गरेका छैनन् । उनले हिजो सामाजिक सञ्जालमा आफ्नो स्पष्टीकरण दिएका थिए । सार्वजनिक भएको अडिओ नै ‘फेक’ हुन सक्ने उनको दाबी छ ।

यस्तै, समीक्षाले एक महिला अधिकारकर्मीसँगको कुराकानीमा पलसँगको सम्बन्धबारे बयान गरेको अडिओ सार्वजनिक भएको थियो । पलले आफ्ना पुरुष साथीहरूले समीक्षालाई उक्साएको आरोप लगाएका छन् । पलको यस्तो आरोपपछि उनीमाथि जाहेरी दिने निष्कर्षमा समीक्षा पुगेकी हुन् ।

हिजो काठमाडौंबाट दिदी–भिनाजुसहित उनी तनहुँको दमौली पुगेकी थिइन् । राति नै जाहेरी दिने तयारी गरिए पनि प्रहरीले उनको बुबाआमाको पनि हस्ताक्षर चाहिने भनेपछि हिजो जाहेरी दर्ता भएन । आज बुबाआमासमेत आएर जाहेरीमा सनाखत गरेको प्रहरी स्रोतले बतायो ।

जाहेरीमा समीक्षाले आफूलाई शाहले ‘प्रेमको जालमा पारी सुटिङका क्रममा ललाइ–फकाइ गर्दै सम्बन्ध राखेको’ उल्लेख गरेकी छन् । कानूनबमोजिम शाहलाई कडा सजायको माग समीक्षाले गरेकी छन् । उनको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको छ । यस विषयमा तनहुँ प्रहरीले औपचारिक जानकारी दिएको छैन ।

जाहेरी दर्ता गर्नुअघि प्रहरीले समीक्षाको अडिओ/भिडिओ बयानसमेत लिएको थियो । यसअघि पनि समीक्षाले पलविरुद्ध जाहेरी दिन कदम चालेकी थिइन् । केहीदिन अगाडि उनी कास्की प्रहरीमा जाहेरी लिएर पुगेकी थिइन् । तर, प्रहरीले अन्तिमपटक घटना जहाँ भएको हो, त्यहीँ उजुरी गर्नुपर्ने बताएको थियो । यसबीचमा पलले समीक्षालाई बिहेको आश्वासन दिएर थामथुम पारेपछि उनी रोकिएकी थिइन् ।

अपराध संहिता २०७४ अनुसार १६ देखि १८ वर्षको किशोरीलाई करणी गर्दा १० देखि १२ वर्षको जेल सजाय हुन सक्छ । यस्तो अपराधमा घटना भएको एक वर्षभित्र उजुरी दिन सकिने व्यवस्था छ । समीक्षाले एक वर्षभित्रै घटना भएको भन्दै सप्रमाण प्रहरीमा जाहेरी दिएकी हुन् । त्यसैले पललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न सक्ने सम्भावना देखिएको छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिनसक्ने व्यवस्था छ ।

पल र समीक्षाको सम्बन्धबारे नेपाल प्रेसले पहिलोपटक खुलासा गरेको थियो । ‘रियल हिरो कि प्लेवाई’ शीर्षकमा गत शनिबार समाचार प्रकाशित भएपछि पलको समूहले समीक्षालाई होस्टाइल बनाएर उक्त समाचार खण्डन गर्न लगाएका थिए । अहिले समीक्षा उक्त समूहको चंगुलबाट बाहिर निस्केर प्रहरीमा पुगेकी हुन् ।

नायक पल शाहविरुद्ध गायिका समीक्षा अधिकारीले यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दिएसँगै यस्तो कसुरका सम्बन्धमा रहेको कानूनी व्यवस्थाबारे चर्चा सुरू भएको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार आरोप प्रमाणित भए पललाई १२ वर्षसम्मको जेल सजाय हुनसक्ने देखिन्छ ।

नेपालको कानूनले नाबालिगसँग शारीरिक सम्बन्ध राख्ने पुरुषलाई कडा सजायको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरको बालिका/किशोरीसँग सहमतिमै भएको यौन सम्बन्ध पनि जबर्जस्ती करणी मानिन्छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा करणी भएको मानिने अवस्था र सजाय सम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने छ ।’

उपदफा ३ मा पीडितको उमेर समूहअनुसार सजायसम्बन्धी व्यवस्था छ । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा माथिको महिलामाथि करणी भए जन्मकैद हुन्छ । १० वर्ष वा १० वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरकालाई करणी भए १८ देखि २० वर्षसम्म कैद सजाय हुन्छ । १४ वर्ष वा १४ वर्षदेखि माथी र १६ वर्षभन्दा कम उमेरकालाई करणी भए १२ देखि १४ वर्षसम्म कैद हुन्छ । यस्तै, १६ वर्ष वा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेर भएकालाई करणी भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । १८ वर्ष वा १८ वर्षभन्दा माथि उमेरकालाई करणी भए ७ देखि १० वर्षसम्म कैद सजाय हुन्छ ।

दफा २२८ ले पिडितलाई पीडकबाट ‘मनासिव’ क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था पनि गरेको छ । दफा २ सय १९ अन्तर्गतका कसुरको हकमा कसुर भएको एक वर्षभित्र उजुरी गरिसक्नुपर्ने र त्यसभन्दा पछि उजुरी गरेमा उजुरी नलाग्ने व्यवस्था छ । दफा २२० अन्तर्गतको कसुर भए जहिले पनि उजुरी लाग्न सक्छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिन सक्ने व्यवस्था छ ।

यदि पीडितले पछि अदालतमा बयानमा फेरेमा उनी स्वयम् कारबाहीको भागीदार हुन सक्छिन् । यस्तो घटनामा अदालतले बयान फेर्ने पीडत नै सजाय दिन सक्छ । नेपालप्रेसडटकमबाट साभार