शक्तिको आडमा संस्थागत सुशासन निर्देशिका ध्वस्त

काठमाडौं । अर्थ मन्त्रालयका उप–सचिव अर्जुन भण्डारीले सत्ता र शक्तिको आडमा ऐन कानुन ध्वस्त पारेका छन् ।

नियामक निकाय र तिनै ऐन कानुन, निर्देशिका पालना गराउने र गर्ने व्यक्तिहरुले नै निर्देशिका विरुद्धका क्रियाकलाप गरिरहेका छन् । हामीले केहि दिन अघि ‘सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै अर्थ मन्त्रालयको उप–सचिव अर्जुन भण्डारीको हाली मुहाली’ शीर्षकमा समाचार प्रकाशन गरेका थियौँ । उनै भण्डारी नियमविपरित विभिन्न सँस्थाहरुमा रहेको नियुक्तिमा अझै कार्यरत नै छन् ।

‘सूचिकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धि निर्देशिका’ को परिच्छेद ३ को १३ नम्बर बुँदाको ३ र ४ मा समान किसिमको संस्थाको संचालक भई कार्य गर्न नपाउने, एक संस्थाको संचालकले अन्य कुनै पनि संस्थाको तलवी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई काम गर्न नपाउने भन्ने स्पष्ट रुपमा उल्लेख गरिएको छ । निर्देशिकामा उल्लेख गरिएको यस प्रकारको पद्धतिको उपहास गर्दै भण्डारीले संस्थागत सुशासन सम्बन्धि निर्देशिकाको ठाडो उल्लंघन गर्दै तीनवटा भन्दा बढी संस्थाको संचालक र एक वटा संस्थाको प्रमूख कार्यकारी अधिकृतका रुपमा रहेर नियमित तलब, भत्ता र अन्य राज्यको सेवा सुविधाहरु एपभोग गरिरहेको पाईएको छ । अर्थ मन्त्रालयमा उप–सचिवको जिम्मेवारी सम्हालिरहेका भण्डारी राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानका संचालक छन् । त्यसैगरेर उनी कृषि विकास बैंकको पदपूर्ति शाखाको पनि सदस्य रहेका छन् ।

निर्देशिकाको ठाडो उल्लंघन गर्दै सेवा सुविधा उपभोग गरिरहेका भण्डारीले किन निर्देशिका पालना नगरेको भन्ने हाम्रो जिज्ञासामा सोही शाखाका प्रमुख अर्थ मन्त्रालयका वित्तिय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रमेश केसी अक्क न बक्क भए । ‘लामो सास फेर्दै त्यो अब तत्काल सुधार हुन्छ ।’ केसीले भने, ‘मन्त्रिज्यू आएपछि यस विषयमा छलफल हुन्छ ।’

यो पनि… सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै अर्थ मन्त्रालयको उप–सचिव अर्जुन भण्डारीको हाली मुहाली