एमसीसी पास भएकोमा अमेरिका खुसी

काठमाडौं । अमेरिकाले मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्ने अवस्था बनेको भन्दै खुसी व्यक्त गरेको छ । नेपालको प्रतिनिधि सभाले एमसीसी अनुमोदन गरेपछि नेपालस्थित अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । एमसीसी अनुमोदन गर्ने संसद्को निर्णयले नेपाली जनताका लागि थप रोजगारी सिर्जना हुने, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने र ढुवानी खर्च कम हुने अमेरिकी अपेक्षा छ । नेपालको ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्यसहित नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो ।

उता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरेका छन् । सोमबार आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरी प्रचण्डले भनेका छन्, ‘हिजो पास भएपछि म निकै खुसी छ । देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’

प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर राजनीतिक दलहरु र समाज नै विभाजनमा जाँदा संविधान र लोकतन्त्रमाथि घात हुन्छ कि भन्ने लागेर सहमति जुटाउने उपाय खोजेको, तर आफूलाई नै भिलेनका रुपमा प्रस्तुत गरेको उनको गुनासो थियो । त्यसैगरी राष्ट्रिय जनमोर्चा पाँचदलीय सत्तारुढ गठबन्धनबाट बाहिरिएको भएको छ ।

आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै जनमोर्चा गठबन्धनबाट बाहिरिएको हो । अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी प्रेस विज्ञप्तिमा संसद्बाट षड्यन्त्रमूलत तरिकाले एमसीसी पास गरी देशको सार्वभौमिकता र अखण्डतामाथि आँच पु¥याएको उल्लेख छ ।