कार्यकर्ता र मतदाता नै नचिनि गोरखामा भोट माग्दै प्रचण्ड

काठमाडौं । आफ्नो खास क्षेत्र र मतदाता बनाउन नसक्नु भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हरेक निर्वाचन टाउको दुखाइ बन्छ ।

निर्वाचनको मुखैमा पुग्दा पनि चुनाव जित्ने निश्चित नभएपछि प्रचण्ड देश भरिमा सुरक्षित क्षेत्र खोज्दै भौतारिनु हुन्छ । भन्न त आफू देशको नेता भएकाले देशै भरिबाट चुनाव लड्न चाहेको प्रचण्ड बताउनुहुन्छ । तर वास्तविकता आफूले चाहेको ठाउँ सुरक्षित नभएपछि उहाँ सुरक्षित ठाउँको खोजी गर्दै चुनाव नै पिच्छे फरक निर्वाचन क्षेत्रमा पुग्नु हुन्छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्ड कुनै पनि निर्वाचन क्षेत्रमा दोहोर्‍याएर चुनाव लड्नु भएको छैन । एक पटक काठमाडौंबाट उहाँले दोहोर्‍याएर उम्मेदवारी दिनुभयो । तर चुनाव जित्न सक्नु भएन । त्यति बेला प्रचण्ड सिराहा र काठमाडौंबाट चुनाव लड्नु भएको थियो । सिराहामा समेत बत्ती निभाएर चुनाव जिताएका माओवादीकै नेताहरू बताउँछन् ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड चितवनको क्षेत्र नं ३ बाट चुनाव लड्नु भएको थियो । आउने मङ्सिर ४ मा हुने निर्वाचनमा पनि उहाँ त्यहीँबाट चुनाव लड्ने तयारीमा हुनुहुन्थ्यो । चितवनमा चुनाव लड्नको लागि प्रचण्ड बारम्बार चितवन आउने जाने गर्दै हुनुहुन्थ्यो ।

चुनावको मुखमा आइपुग्दा पनि चितवनमा आफ्नो पक्षमा माहौल नबनेपछि उहाँले एकाएक चितवन छाड्नु भयो । प्रचण्ड प्रतिनिधि सभाको चुनाव लड्न अहिले गोरखा पुग्नुभएको छ ।

यस अघि बाबुराम भट्टराईले चुनाव जित्दै आउनुभएको सो क्षेत्र बाबुरामले काठमाडौंमा माओवादी लगायतको गठबन्धनको समर्थनमा छोरी उठाएर प्रचण्डसँग साट्नु भएको छ । बाबुरामले संसदीय राजनीतिबाट बाहिरिएर आफ्नो सट्टामा छोरी ल्याउनु भएको छ । माओवादीले उहाँकी छोरीलाई काठमाडौंबाट जिताउने बचन दिएपछि बाबुराम प्रचण्डलाई बोकेर गोरखा पुग्नुभएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड अहिले गोरखामा आफ्नो लागि भोट माग्दै हुनुहुन्छ । पाहुनाको रुपमा गोरखा पुग्नुभएको प्रचण्डलाई भोट माग्न निक्कै अप्ठेरो परेको छ ।

पार्टीको केन्द्रीय अध्यक्ष रहनुभएका प्रचण्ड आफ्नै पार्टीका जिल्ला, पालिका लगायतका भूगोलका नेता कार्यकर्ता चिन्नु हुन्न । झन् मतदातालाई त चिन्ने कुरै भएन । प्रचण्ड गोरखामा भोट त माग्दै हुनुहुन्छ, तर न नेता–कार्यकर्ता चिन्नु, न मतदाता चिन्नुको अवस्था छ ।

प्रचण्डको भोट मगाई फ्लिमको हिरोको जस्तो छ । जता जता मान्छे देखिन्छन्, त्यतै त्यतै हात जोड्दै र मुन्टो हल्लाउँदै हिँड्ने । चिन्नु न जान्नु फिस्स हाँस्ने ।

माओवादी अध्यक्ष प्रचण्ड आफूलाई हर बखत सुप्रिमो भन्नुहुन्छ । तर निर्वाचनको बेला जनता सुप्रिमो हुन्छन् । सायद गोरखा पुगेपछि उहाँले थाहा पाउनुभएको छ ।

माओवादी सुप्रिमो प्रचण्ड अहिले गोरखाली सुप्रिमोहरुसँग हात जोड्दै हुनुहुन्छ । निर्णय जनताको हातमा छ । फैसला मङ्सिर ४ मा हुने छ ।

कसैले स्वीकार गरे पनि नगरे पनि प्रचण्ड गोरखाको लागि पाहुना नै हो । पाहुनाले गाउँको समस्या बुझेका पक्कै हुँदैन । स्थानीय नेताले जे जे भन भन्यो त्यही भन्ने हो, उनीहरूले जे सुनाउँछन्, त्यही सुन्ने हो । पाहुनासँग मन खोलेर कुरा राख्न पनि सकिँदैन । अहिले गोरखाली जनता त्यही समस्यामा परेका छन् । सनराइजखबर