नाचघरमा गुञ्जियो नेपाली–जापानी लोकधुन

काठमाडौं (प्रस)– नेपाल र जापानका कलाकारले चौतारी साँझ–२०७४’ कार्यक्रममा नेपाली र जापानी गरी १४ लोकधुन प्रस्तुत गरेका छन् ।

सांस्कृतिक संस्थानको आयोजनामा भएको कार्यक्रममा लामो समयदेखि जापानमा बसेर बाँसुरी र तबलाका माध्यमबाट नेपाली गीतसंगीतको प्रवद्र्धनमा क्रियाशील चौतारी ब्याण्डका बाँसुरीवादक पञ्च लामा, तबलावादक श्रवण लामा र जापानी कलाकार तेराकादो मित्सिगुले लोकधुन प्रस्तुति दिएका हुन् ।

लामाद्वयले बाँसुरी र तबलाको धुन ‘जर्नी थ्रु द लाइट’ शीर्षकमा प्रस्तुति दिँदा मित्सिगुले गीतारमा साथ दिनुभएको थियो । उक्त कार्यक्रममा ‘टोकियो नाइट धुन’ समेत प्रस्तुत गरिएको थियो । यस्तै ‘द हिमालयन’, ‘लाम्बादा’, ‘डान्सिङ बर्ड’, ‘क्याराभान’, ‘वनचरी’, ‘ए कान्छा’लगायत शीर्षकका गीतमा तीनै कलाकारले लोकधुन प्रस्तुत गरेका थिए ।

नेपाली र जापानी संगीतलाई एकै थलोमा प्रस्तुत गर्न चौतारी साँझ आयोजना गरिएको संस्थानका महाप्रबन्धक राजेश थापाले बताए । चौतारी साँझबाट संकलित रकम सर्लाहीको हरिवन नगरपालिका– ५ स्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहका लागि प्रदान गरिने जनाइएको छ ।

अघिल्लो चरणमा ‘सी वेभ’ शीर्षकमा वाद्यवादनबाट यी कलाकारले प्रस्तुत गरेको समुद्रको छाल धुन र ‘दी हिमालयन’ शीर्षकका हिमाली क्षेत्रका लोकधुनलाई दर्शकले निकै रुचाए । धुनसँगै कलाकारलाई दर्शकले तालीले निरन्तर साथ दिइरहे । उनीहरूको ड्रम सेसनको प्रस्तुति निकै तताउने खालको थियो । ड्रम सेसनअन्तर्गत ड्रमबाट श्रवण र बाँसुरीबाट पञ्चबीच युगलवादन प्रस्तुत भएको थियो ।