काठमाडौं (पास)– वैदेशिक रोजगारीका लागि दुबई जाने कामदारमाथि थप ४५ सय रुपैयाँ आर्थिक भार थपिएको छ ।
दुबई सरकारले रोजगारीका लागि आउने विदेशी नागरिकका लागि फेब्रुअरी ४ देखि लागू हुनेगरी ल्याएको नयाँ नियमले आर्थिक भार थपिएको हो ।
दुबईस्थित नेपाली दूतावासले गत सोमबारदेखि दुबई सरकारको निर्णय भन्दै रोजगारीका लागि आउने कामदारले चालचलन (प्रहरी प्रतिवेदन) प्रमाणपत्र पेस गर्नुपर्ने सूचना प्रकाशन गरेको थियो । यो नयाँ नियम दुबईमा कार्यरत नेपाली कामदार र नेपालबाट नयाँ कामका लागि जाने सबैमा लागू हुन्छ ।
दुबई सरकारको नयाँ नियमपछि कामदारले सामान्यत पुलिस रिपोर्ट बनाउन दुई सय रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । प्रहरी प्रतिवेदन दूतावासबाट प्रमाणित गर्न थप ४३ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।