ईपिएस पास भएकाहरुमध्ये १६ सयको ‘कन्ट्रयाक्ट’ आयो

काठमाडौं (पास)– दक्षिण कोरियाले २०१७ मा भाषा परीक्षा उत्तीर्ण गरेका करिब १६ सय नेपालीको ‘लेबर कन्ट्रयाक्ट’ पठाएको छ । २०१८ को पहिलो चरणका लागि करिब १६ सय जना नेपालीको ‘लेबर कन्ट्रयाक्ट’ पठाएको हो ।

पहिलो लटमा कोरियाले अझै पाँच÷छ सय जनाको लेबर कन्ट्रयाक्ट पठाउने इपिएस कोरिया शाखका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए । हालसम्म १६ सय जनाको लेबर कन्ट्रयाक्ट आएको र अबको करिब १ हप्तामा बाँकि लेबर कन्ट्रयाक्ट आउने जनाइएको छ । सूचना अधिकारी भण्डारीकाअनुसार फबु्रअरी देखि मार्चको अन्तिम सम्ममा लेबर कन्ट्रयाक्ट आएकाहरु कोरिया उडीसक्नेछन् ।

त्यस्तै २०१८ का लागि कोरियाले कामदार लैजान शुरु गरिसकेको छ । हालसम्म भाषा परीक्षा उत्तीर्ण गरेका पाँच जना कोरिया उडिसकेका इपिएसले जनाएको छ ।

गत वर्ष पहिलो लटमा पाँच सय कामदारको मात्रै कन्ट्रयाक्ट आएको थियो । यस वर्ष भने पहिलो लटमै कोरियाले राम्रो संख्यामा कन्ट्रयाक्ट पठाउने संकेत गरेको इपिएसले जनाएको छ ।

कोरियाको मानव संशोधन विकास विभाग एचआरडी कोरियाले भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको चार चरणमा छनोट गर्ने गरेको छ । लेबर कन्ट्रयाक्टलगायतका जानकारी एचआरडीले सिधै कामदारको आइडीमा पठाउने गरेको छ । त्यसपछि उनीहरुले इपिएसमा सम्पर्क गरी प्रक्रिया अगाडि बढाउन सक्ने छन् ।

अब आगामी मे महिनामा दोस्रो चरणको छनोट शुरु हुनेछ । त्यसको तीन महिनापछि अर्को लट र फेरी ३ महिना पछि अर्को लट छनोट गर्ने इपिएसले जनाएको छ ।

कामदार छान्न रोजगारदाता कम्पनीहरु सहभागी हुन्छन् । उनीहरुले परीक्षा उत्तीर्ण भएकामध्येबाट आफूलाई आवश्यक पर्ने कामदारको भाषा परीक्षण गर्न पाउँछन् । भाषा परीक्षा उत्तीर्ण गरेपनि छनोट सूचिमा नाम चढेको २ वर्षसम्म रोजगारदाताको रोजाईमा पर्न नसकेको कामदारहरु कोरिया जानबाट बञ्चित हुने छन् । त्यस्तो नेपाली संख्या हजारौँ रहेको बताइन्छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत् कोरियाली भाषा परीक्षामा यस वर्षका लागि १२ हजार एक सय आठ परिक्षार्थी उत्तीर्ण भएका छन् । ६८ हजारभन्दा बढीले भाषा परीक्षा दिएका थिए ।