सिरियामा जारी हमला दैनिक पाँच घन्टा रोक्न रुसका राष्ट्रपतिको निर्देशन

काठमाडौं– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा विद्रोही समूहको कब्जामा रहेको गुटामा जारी हमला तत्काल रोक्न निर्देशन दिएका छन् ।राष्ट्रपति पुटिनले दैनिक ५ घण्टा आक्रमण रोक्न निर्देशन दिएका हुन् ।

अब सिरियामा स्थानीय समयअनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आक्रमण नहुने रुसी रक्षामन्त्री सर्गेयु सोएगुले जानकारी दिएका छन् ।रुसी सहयोग पाएको सिरियाली सरकारले विद्रोही नियन्त्रित गुटा क्षेत्रमा भिषण आक्रमण गर्दै आएको थियो ।आक्रमणमा नागरिक धेरै परेको भन्दै विश्व समुदायले आलोचना गरेपछि रुसले दैनिक पाँच घण्टा आक्रमण रोक्न निर्देशन दिएको हो ।

सो क्षेत्रमा ३ लाख नागरिक फसिरहेको र तिनीहरुको रक्षाका लागि आक्रमणमा रोक लगाइएको बताइएको छ ।सो क्षेत्रमा विगत आठ दिनदेखि जारी आक्रमणमा ५ सयभन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।सिरियामा युद्धविराम गर्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा सहमति भए पनि त्यसको पालना भने भएको छैन ।एजेन्सी