रेशम चौधरीसहित २४ जना थुनामै अनशन

धनगढी – कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीसहित थुनामा रहेका २४ जना आइतबार साँझदेखि कारागारभित्रै अनशनमा बसेका छन् ।
टिकापुरको घटनाका मुख्य आरोपी चौधरीले फागुन १४ गते कैलाली जिल्ला अदालत सामु आत्म समर्पण गरी जेल गएका थिए भने अरु २४ अनशनकारी टीकापुर घटनालगत्तै प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेका थिए । ती २४ जना सहित चौधरीले विभिन्न माग राख्दै अनशनमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले जानकारी गराए ।

उनीहरूले प्रतिनिधि सभामा विजयी चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टिकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पुरा गर्नुपर्ने लगायतका माग राखी अनशनमा बसेको प्रवक्ता बोहराले बताए । टीकापुरकाण्डका मुख्य आरोपी भनिएका चौधरी घटनालगत्तै फरार रहेका थिए । उनले फरार रहेकै अवस्थामा प्रतिनिधी सभासदस्यको लागी उम्मेदवारी दिउका थिए । उनले निर्वाचनमा विजय हासिल गरेपनि प्रमाण पत्र भने पाएका छैनन् । स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने नियम भएको भन्दै उ(नको प्रमाण पत्र निर्वाचन आयोगले नै राखेको थियो ।