सप्तरीमा साढे १४ हजार मतदाता थप

राजविराज– आगामी मंसिर २१ गते हुने दोस्रोचरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि सप्तरीमा १४ हजार ५४५ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयकाअनुसार निर्वाचन आयोगले पुनः संकलन गरेको मतदाता नामावलीमा सप्तरी जिल्लामा १४ हजार ५४५ जना मतदाता थप भएको हो ।

सप्तरी जिल्लामा प्रतिनिधि सभाका लागि चार र प्रदेश सभाका लागि आठ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । मतदाता संख्या थपिएसँगै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १६ वटा मतदान केन्द्रसमेत थप भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकृत दिलीपकुमार यादवले बताए ।

सप्तरी जिल्लामा स्थानीय तहको निर्वाचनमा भने ४६२ मतदान केन्द्र कायम भएको थियो । अव प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि २९५ मतदानस्थलमा थप १६ गरी ४७८ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।