प्रधानमन्त्री ओली लामो समयपछि सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन् । बुधबार विहान ९ बजे प्रधानमन्त्री ओलीले राष्ट्रिय सभागृहमा राष्ट्रिय विज्ञान दिवसमा आयोजित कार्यक्रमको उद्घाटन गर्नेछन् ।

त्यस्तै आजै विहान ११ बजे उनले सिंहदरबारमा निर्माण गर्न लागिएको संघीय संसद भवनको शिलान्यास गर्ने भएका छन् । यो करिब एक महिनापछि प्रधानमन्त्री ओली सहभागी भएको पहिलो सार्वजनिक कार्यक्रम हो ।

सिंगापुरमा स्वास्थ्योपचार गराएर फर्किएका प्रधानमन्त्री ओली लामो समय सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । सिंगापुरबाट फर्किएपछि पनि उनले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका थिए ।

सार्वजनिक कार्यक्रममा नदेखिएका भए पनि प्रधानमन्त्रीले पार्टी र सरकारका कामकारबाही बालुवाटारबाट सञ्चालन गर्दै आएका थिए । उनले पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र मन्त्रिपरिषद् बैठक सिंहदरबारमा राख्दै आएका थिए ।