खोलाको किनारामा महिलाको शव फेला

भक्तपुर । चाँगुनारायण नगरपालिका–७ र ८ को सिमानामा पर्ने मूलसाँघु खोलाको किनारामा आज एक महिलाको शव फेला परेको छ ।भक्तपुर नगरपालिका–६ घरभई चाँगुनारायण नगरपालिका–८ जितपुर भाडामा बस्दै आएकी ३२ वर्षीया काली भन्ने यशोधा सिजखुको शव खोला किनारामा भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

शवको पहिचान भने मृतकका श्रीमान् दशराम सिजखुले गरेको जानकारी दिँदै उहाँले शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको बताए । खोलाको गहिरो भागमा शव रहेको र नजिकै एक गाई पनि मृत भेटिएको जानकारी दिँदै घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार यशोदा तरकारी खोज्न भनी डेरा कोठाबाट निस्किएको थिइन् ।