जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

काठमाडौं । चितवन र कैलालीमा जुवातास खेलिरहेको अवस्थामा १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका–११ अमरचोक बस्ने २४ वर्षीय सागर कुमालको घरमा तास खेलिरहेको अवस्थामा सागर समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा तास खेलिरहेको भन्ने सुचनाको आधारमा प्रहरी चौकी भोजाडबाट खटिएको प्रहरीले उनीहरुलाई ८४ हजार १ सय ६५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका९३ बस्ने ३३ वर्षीय सन्तोष श्रेष्ठ समेत ४ जनालाई नगद ७९ हजार रुपैयाँ र ३ बुक ताससहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  सोही ठाउँ बस्ने युवराज भण्डारीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।