सुकुर्दुङ खोलाको बाढीले ढोरपाटनका १० घर बगाउदा १२ जना बेपत्ता

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले कम्तिमा १० घर बगाएको छ ।

सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले घर बगाउँदा १२ जना सम्पर्क बिहिन भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन’, भण्डारीले भने, ‘अहिले उद्दारको काम भइरहेको छ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।’

बाढीले कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । घटना स्थलमा अहिले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको उनले जानकारी दिए