बागलुङको बाढीमा मृत्यु हुनेको संख्या १७ पुग्यो

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ भने २१ जना बेपत्ता छन् ।

मृतकमध्ये २ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले करिब १५० घरमा क्षति पुर्‍याएको थियो । बेपत्ता खोज्ने क्रममा सोमबार अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका–७ स्थित बढीगाड खोलामा फेला परेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृतक १७ जनामध्ये १५ जनाको मात्रै सनाखत हुन सकेको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।